२४ असार, काठमाडौं । नेपाली कांग्रेसले संविधान संशोधनको विषयलाई निष्कर्षमा पुर्याउन कार्यदल गठन गर्ने महत्त्वपूर्ण निर्णय गरेको छ।
असार १६ गते सुरु भई असार २३ गते सम्पन्न केन्द्रीय समिति बैठकले यो निर्णय गरेको कांग्रेसका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए। कार्यदलको मुख्य जिम्मेवारी पार्टीभित्र संविधान संशोधनका विषयमा छलफल चलाउनु र संविधान निर्माणमा सहकार्य गरेका तथा अन्य राजनीतिक दलहरू, विज्ञ, विशेषज्ञ र सरोकारवाला नागरिक समाजसँग संवाद गर्नु रहेको छ।
कांग्रेसले संविधानको रक्षा र कार्यान्वयन आफ्नो मूल दायित्व भएको बताएको छ। पार्टीले संविधान कार्यान्वयनको एक दशकमा देखिएका चुनौती र जटिलताको समीक्षा गर्दै यसको गतिशील कार्यान्वयनका लागि समयानुकूल संशोधन आवश्यक रहेको विश्वास व्यक्त गरेको छ। यस सन्दर्भमा, कांग्रेसले २०८१ असार १७ गते कांग्रेस र एमालेबीच भएको ७ बुँदे सहमतिलाई स्मरण गराएको छ। उक्त सहमतिमा संविधान प्रारम्भ भए पश्चात् अभ्यासमा देखा परेका सबल पक्ष र दुर्बल पक्ष तथा जटिलताको समीक्षा गरी राजनीतिक स्थायित्वका लागि संविधानमा आवश्यक संशोधन र तदनुकुलको कानून निर्माण गर्ने विषयलाई प्राथमिकता दिने’भन्ने उल्लेख थियो।
यद्यपि, सो सहमति भएको लामो समय बितिसक्दा पनि सरकारका तर्फबाट संविधान संशोधनका विषयमा काम सुरु भएको थिएन। कांग्रेसको यो निर्णयले संविधान संशोधनको प्रक्रियालाई अगाडि बढाउने प्रयास गरेको देखिन्छ।

















