काठमाडौं । कम्पनी रजिस्ट्रारको कार्यालयमा ‘सिस्टम डाउन’ गराएर घुस डिल भएको विषय आज राष्ट्रिय सभाको बैठकमा उठेको छ।
नेकपा एकीकृत समाजवादीका सांसद घनश्याम रिजालले यस प्रकरणमा सरकारको गम्भीर ध्यानाकर्षण गराउँदै तत्काल छानबिन र दोषीमाथि कारबाहीको माग गरेका छन्। सांसद रिजालले अनलाइनखबरमा प्रकाशित समाचारलाई उद्धृत गर्दै भने, ‘सर्भर डाउनको बहानामा अनलाइन सिस्टमलाई बन्द गराइ नवीकरण गर्दा र कम्पनी दर्ता गर्दासमेत प्रतिशत तोकेर रकम असुल गर्ने गरेको समाचार बाहिर आएको छ।’ उनले यस विषयलाई ‘गम्भीर’ भन्दै आपत्ति जनाए।
रिजालले प्रश्न गरे, ‘कम्पनी दर्ता गर्दा घुस खुवाउनुपर्ने भएपछि जनताले किन र कसरी व्यवसाय गर्छन्, कसरी लगानीको वातावरण बन्छ र युवा किन देशमा बस्छन्?’
प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नै नेतृत्वमा सुशासन आयोग गठन गरेको स्मरण गराउँदै रिजालले भने, ‘सिंहदरबारको एक किलोमिटर दुरीमा रहेको त्रिपुरेश्वरस्थित कम्पनी रजिस्ट्रार कार्यालयमा सर्भर डाउनको नाममा सरकारको सुशासन र सिस्टम डाउन भएको छ।
उनले सभामुखमार्फत सम्बन्धित निकायलाई यस विषयमा तुरुन्त छानबिन र कारबाहीका लागि ध्यानाकर्षण गराएका छन्। यो प्रकरणले सरकारी कार्यालयमा हुने अनियमितता र सुशासनको अवस्थामाथि पुनः प्रश्नचिह्न खडा गरेको छ।

















