३ साउन,सप्तरी । जिल्लाको अग्निसाइर कृष्णासवरन गाउँपालिकामा शनिबार दुई जनाको मृत्यु भएका छुट्टाछुट्टै घटनाले स्थानीयवासी चिन्तित बनेका छन्।
गाउँपालिका–४, टेङगरीस्थित खेतमा सिँचाइ गरिरहेका बेला करेन्ट लागेर ७० वर्षीया उर्मीला देवी यादवको मृत्यु भएको हो। इलाका प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायव उपरीक्षक माधव प्रसाद काफ्लेका अनुसार, पानी तान्न प्रयोग गरिएको विद्युतिय मोटरबाट करेन्ट लाग्दा वृद्धाको घटनास्थलमै ज्यान गएको हो।
त्यसैदिन, सोही वडाको राजविराज–कञ्चनपुर हुलाकी सडक छेउमा रहेको रुखमा झुन्डिएको अवस्थामा १९ वर्षीय युवक अरबिन्द साह मृत फेला परेका छन्। मृतक साह स्थानीय बौवालाल साहका छोरा रहेको प्रहरीले पुष्टि गरेको छ।
दुवै घटनाका बारेमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ भने शवहरूलाई पोष्टमार्टमका लागि राजविराज पठाइएको छ। यी दुइटै घटनाले गाउँमा शोकको माहोल सिर्जना भएको छ।

















