Logo

२३ साउन,वीरगञ्ज । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेको रिहाइ र निष्पक्ष न्यायको माग गर्दै वीरगञ्जमा जनस्तरबाट हस्ताक्षर अभियान तीव्र रुपमा सञ्चालन भइरहेको छ। वीरगञ्जको बसपार्क चोकमा तीन दिनअघि सुरु गरिएको यो अभियानमा स्थानीय बासिन्दा, व्यापारी, विद्यार्थी र सर्वसाधारणको उल्लेख्य सहभागिता देखिएको छ।

रास्वपा मधेस प्रदेश यातायात विभाग प्रमुख रामसुन्दर आर्यका अनुसार, हाल भैरहवा कारागारमा रहेका सभापति लामिछानेमाथि लिइएको “राजनीतिक प्रतिशोधपूर्ण” कदमको विरोधमा यो अभियान देशभर एकसाथ सुरु गरिएको हो। वीरगञ्जमा दैनिक एक घण्टा सञ्चालन हुने यो हस्ताक्षर अभियानको तेस्रो दिनसम्ममा ३,५०५ जनाले हस्ताक्षर गरिसकेको आर्यले जानकारी दिए।

“यो केवल पार्टीगत आन्दोलन होइन, यो न्याय र लोकतान्त्रिक मूल्यको रक्षा गर्ने अभियान हो। जनताको व्यापक समर्थनले स्पष्ट देखाउँछ कि रवि लामिछानेलाई निष्पक्ष सुनुवाइ र न्याय दिनु अत्यन्त जरुरी छ,” आर्यले भने।

आजको कार्यक्रममा रास्वपा जिल्ला सभापति हरी पन्त, मधेस प्रदेश यातायात विभाग प्रमुख रामसुन्दर आर्य, मधेस प्रदेश सदस्य नवीन प्रसाद चौरसिया, मनोज पण्डितलगायत नेताहरूको उपस्थिति रहेको थियो। कार्यक्रम स्थलमा सर्वसाधारण र पार्टी कार्यकर्ताहरू लामबारीमा उभिएर हस्ताक्षर गर्दै लामिछानेप्रति ऐक्यबद्धता जनाइरहेका थिए।

स्थानीयहरूका अनुसार, यदि यो अभियानलाई निरन्तरता दिइयो भने न्यायको माग बलियो स्वरमा सरकारसमक्ष प्रस्तुत गर्न सकिनेछ। आयोजकका अनुसार संकलित हस्ताक्षर र समर्थनपत्रहरू प्रदेश तथा केन्द्र सरकारमा बुझाइनेछ।

रास्वपाले अभियानलाई देशभर विस्तार गर्दै न्यायका पक्षमा जनमत सिर्जना गर्ने तयारी गरिरहेको जनाएको छ।


सम्बन्धित समाचार