२३ साउन, काठमाडौं । नेपाली कांग्रेसले राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडालाई पदबाट राजीनामा दिन निर्देशन दिने भएको छ।
संघीय निजामती सेवा विधेयकमा भएको ‘कुलिङ अफ पिरियड’ सम्बन्धी विवादमा उनको नैतिक जिम्मेवारी देखिएको भन्दै पार्टीले यस्तो निर्णय गर्न लागेको हो। कांग्रेसका सहमहामन्त्री जीवन परियारको नेतृत्वमा गठित छानबिन समितिले खतिवडालाई जिम्मेवार ठहराउँदै प्रतिवेदन बुझाएपछि यो कदम चालिएको हो। राज्य व्यवस्था समितिबाट पारित भएको विधेयकमा गरिएको कुलिङ अफ पिरियडको व्यवस्था प्रतिनिधि सभाबाट निष्कृय हुने गरी पास भएपछि खतिवडा विवादमा परेका थिए।
पार्टी स्रोतका अनुसार, कांग्रेसका शीर्ष नेताहरूबीच खतिवडालाई राजीनामाका लागि निर्देशन दिने विषयमा सहमति बनिसकेको छ। सभापति शेरबहादुर देउवा पनि खतिवडालाई पदमुक्त गर्नुपर्ने पक्षमा उभिएकाले यो निर्णय चाँडै नै आउने सम्भावना छ। पार्टीले एक(दुई दिनभित्रै खतिवडालाई राजीनामा दिन औपचारिक निर्देशन दिने तयारी गरेको छ।
















