२३ साउन,वीरगञ्ज । वीरगञ्ज उद्योग वाणिज्य सङ्घको महिला उद्यमशीलता विकास समितिले आगामी भाद्र १४ गते शनिवार “बृहत् महिला सम्मेलन २०८२” आयोजना गर्ने भएको छ। सम्मेलनको मुख्य उद्देश्य पर्सा–बारा जिल्लामा विभिन्न क्षेत्रहरूमा सक्रिय महिलाको सामाजिक पहिचान उजागर गर्नु रहेको समितिले जानकारी दिएको छ।
वीरगञ्ज उद्योग वाणिज्य सङ्घको सभाहलमा हुने कार्यक्रममा नेपालकी पूर्व राष्ट्रपति विद्यादेवी भण्डारी प्रमुख अतिथिको रूपमा सहभागी हुनेछन्। कार्यक्रम अन्तर्गत “नारी शक्ति, समर्पण र सम्मान“ विषयक कार्यशाला गोष्ठी तथा विभिन्न प्यानल छलफलहरू संचालन गरिनेछ।
प्रेरणादायी महिलाहरूलाई सम्मान
कार्यक्रममा उद्योग, व्यापार, शिक्षा, स्वास्थ्य र सामाजिक सेवा लगायतका विभिन्न क्षेत्रमा उल्लेखनीय योगदान पु¥याएका ३०–४० जना महिलाहरूलाई सम्मान गरिनेछ। त्यस्तै, राष्ट्रियस्तरमा स्थापित महिलाहरूको सहभागितामा विभिन्न विधामा प्यानल छलफल समेत गरिने कार्यक्रम संयोजक निरज अग्रवालले जानकारी दिए।
उद्देश्य — महिला नेतृत्व र उद्यमशीलताको प्रवद्र्धन
महिला उद्यमशीलता विकास समितिकी संयोजक डा. लक्ष्मी थापाका अनुसार सम्मेलनको उद्देश्य महिला उद्यमीहरूको नेतृत्व क्षमता विकास गर्नु, उद्योग–व्यापारमा सहभागिता बढाउनु र समाजमा महिलाको पहिचान स्थापित गर्नु हो। कार्यक्रममा सहभागी महिलाहरूलाई उद्यमशीलता, सामाजिक सेवा र राष्ट्र निर्माणमा थप प्रेरणा दिने लक्ष्य रहेको उनले बताइन्।
पत्रकार सम्मेलनद्वारा जानकारी
आज वीरगञ्जमा आयोजित पत्रकार सम्मेलनमार्फत कार्यक्रमको तयारीबारे जानकारी दिइएको हो। कार्यक्रममा कार्यक्रम संयोजक निरज अग्रवाल, सह–संयोजक अनुप अग्रवाल, संयोजक डा. लक्ष्मी थापा, सङ्घका अध्यक्ष हरिप्रसाद गौतम, महिला नेतृहरू तथा पदाधिकारीहरूको उपस्थिति रहेको थियो।
कार्यक्रममा नेपाल रेडक्रस सोसाइटीकी गुडि साहले स्वागत मन्तव्य दिएकी थिइन् भने नेपाल पत्रकार महासङ्घ पर्साका अध्यक्ष ओमप्रकाश खनालले आसन ग्रहण गरेका थिए।
















