Logo

२४ भदौ, काठमाडौँ । जेन–जीको आन्दोलनका क्रममा प्रहरीको गोली लागेर १९ जनाको ज्यान गएपछि देशभरका शिक्षण संस्थाहरूले आज र भोलि शोक बिदा दिने निर्णय गरेका छन्।

नेपाल मन्टेश्वरी एशोशियसन (एनएमए) की अध्यक्ष पवित्रा लिम्बु, अपेनका अध्यक्ष बद्री दाहाल, हिसानका कार्यवाहक अध्यक्ष युवराज शर्मा, नेशनल प्याब्सन अध्यक्ष सुवाष न्यौपाने र प्याब्सनका अध्यक्ष कृष्णप्रसाद अधिकारीले संयुक्त विज्ञप्ति जारी गर्दै दुई दिन विद्यालय बन्द गर्ने घोषणा गरेका हुन्।

यससँगै काठमाडौं र ललितपुर महानगरपालिका तथा जिल्लास्तरीय शिक्षा निकायहरूले पनि पठनपाठन रोक्ने निर्णय गरेका छन्।

उच्च शिक्षातर्फ पनि परीक्षाहरू स्थगित भएका छन्। त्रिभुवन विश्वविद्यालयले चार वर्षे स्नातक तहका आज, भोलि र पर्सि (३ दिन) हुने परीक्षा स्थगित गरेको छ। स्थगित परीक्षा अब असोज २, ४ र ५ गते हुने त्रिविले जनाएको छ।

त्यसैगरी, पूर्वाञ्चल विश्वविद्यालयले पनि आज र भोलि सञ्चालन हुने स्नातक तथा स्नातकोत्तर तहका परीक्षा स्थगित गरेको छ। काठमाडौं विश्वविद्यालयले भने आज पठनपाठन नहुने निर्णय गरेको छ।

शिक्षण संस्थाहरूले जारी गरेको विज्ञप्तिमा निर्दोष विद्यार्थी र युवामाथि भएको हिंसात्मक दमनप्रति गहिरो दुःख व्यक्त गर्दै शान्तिपूर्ण वातावरणमा शिक्षण–अध्यापन सञ्चालन गर्न राज्यलाई जिम्मेवार बन्न आग्रह गरिएको छ।


सम्बन्धित समाचार