२४ भदौ, काठमाडौँ । काठमाडौंको नयाँबानेश्वरस्थित संसद भवन अगाडि मंगलबार बिहानैदेखि मानिसहरूको भीड बढ्न थालेको छ। सोमबार भएको प्रदर्शनपछि आज पनि विभिन्न समूह संसद भवनको मूल गेटमा भेला भई प्रधानमन्त्री र सरकारविरुद्ध नाराबाजी गरिरहेका छन्।
जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी अपिलराज बोहराका अनुसार केही मानिसहरू सोमबारको घटनापछि बानेश्वर क्षेत्रको अवस्था हेर्न आउँदा स्वतःभीडको रूप लिएको छ। तर सुरक्षाको दृष्टिले त्यहाँ ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ।
काठमाडौं जिल्ला प्रशासन कार्यालयले मंगलबार बिहान ८ः३० बजेदेखि चक्रपथभित्र अनिश्चितकालीन कर्फ्यू आदेश जारी गरिसकेको छ। आदेशले अत्यावश्यक सेवामा संलग्नबाहेक सर्वसाधारणलाई घरबाहिर निस्कन निषेध गरेको छ।
सोमबार भएको जेन–जी पुस्ताको आन्दोलन हिंसात्मक मोड लिँदा १९ जनाको ज्यान गएको थियो। काठमाडौंमा १७ र इटहरीमा २ जनाको मृत्यु भएको पुष्टि भएको छ। आन्दोलनमा घाइते भएकाहरू विभिन्न अस्पतालमा उपचाररत छन्।
स्थिति संवेदनशील बनेपछि प्रशासन र सुरक्षाप्रहरीले जनतालाई धैर्य राख्न अपील गरेका छन्।

















