Logo

२४ भदौ, काठमाडौं । देशभर फैलिएको आन्दोलनलाई शान्तिपूर्ण समाधानतर्फ डोर्‍याउन नेपाली सेनाका प्रधानसेनापति अशोकराज सिग्देलले वार्ताको बाटो अपनाउन आह्वान गरेका छन्।

मंगलबार साँझ भिडियो सन्देश जारी गर्दै उनले भने, “वर्तमान असहज परिस्थितिलाई सामान्यीकरण गर्दै राष्ट्रको सर्वोपरि हितको रक्षा गर्नु सबैको साझा कर्तव्य हो। त्यसैले आन्दोलनका कार्यक्रमहरू स्थगित गरी वार्ताको बाटो समाउन अनुरोध गर्दछु।”

आन्दोलनका क्रममा भएको जनधनको क्षतिप्रति गहिरो दुःख व्यक्त गर्दै उनले दिवंगतहरूको आत्माको चीरशान्ति तथा शोकसन्तप्त परिवारप्रति हार्दिक संवेदना प्रकट गरे। घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको शुभकामना व्यक्त गर्दै उनले शान्ति, सुरक्षा र राष्ट्रिय एकता कायम राख्न सबै नेपाली एकताबद्ध हुनुपर्नेमा जोड दिए।

प्रधानसेनापति सिग्देलले मुलुकको स्वतन्त्रता, सार्वभौमसत्ता, भौगोलिक अखण्डता र जनताको सुरक्षाप्रति नेपाली सेना सदैव प्रतिबद्ध रहने बताए। आन्दोलनका कारण राष्ट्रिय सम्पदा, सार्वजनिक तथा निजी सम्पत्ति, आम नागरिक र कूटनीतिक नियोगहरूको सुरक्षामा प्रतिकूल असर नपार्न आग्रह गर्दै उनले संयमता र जिम्मेवारीपूर्वक अघि बढ्नुपर्ने बताए।

देशको मातृभूमि र राष्ट्रिय सद्भावको जयगान गर्दै सिग्देलले भने, “नेपालको इतिहासले देखाएझैं, हामी सबै मिलेर राष्ट्रिय एकता र सद्भावलाई सुदृढ बनाउनुपर्छ।”


सम्बन्धित समाचार