Logo

२८ भदौ,वीरगञ्ज ।जेन–जी आन्दोलन चर्किएको भदौ २४ गते सामाजिक सञ्जालमार्फत मुख्यमन्त्री पदबाट राजीनामा दिएको घोषणा गरेका मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले चार दिनपछि आफ्नै भनाइबाट पछि हटेका छन्।

भदौ २४ गते सिंहले आफ्नो फेसबुक स्टाटसमार्फत जनधन र सार्वजनिक सम्पत्तिको सुरक्षा गर्न नसकेको भन्दै राजीनामाको घोषणा गरेका थिए। स्टाटसमा लेखिएको थियो:

“नागरिककै जीवन सुरक्षित गर्न नसकिएको वर्तमान परिस्थितिले मलाई आत्मसम्मानपूर्वक यो निर्णय लिन बाध्य बनाएको छ। नागरिकको ज्यानभन्दा ठूलो अरु केही छैन भन्ने अटल विश्वासका साथ, जनताको अधिकार र भविष्यप्रति उत्तरदायी हुँदै म मधेश प्रदेशको मुख्यमन्त्री पदबाट राजीनामा गर्दछु।”

तर अहिले भने सिंहले उक्त स्टाटसलाई औपचारिक राजीनामा नभएको दाबी गरेका छन्। उनले भनेका छन्, “त्यो दिन विषम परिस्थिति थियो। कसैको जनधनको क्षति नहोस् भनेर फेसबुकमा लेखेको हुँ। त्यो बेलामा प्रदेश प्रमुख थिएनन्, नभएको अवस्थामा कसलाई राजीनामा दिने?”

अनलाइनखबरको जिज्ञासामा उनले थपे, “मान्नलाई मेरो मात्र नैतिकता छैन नि। सबैले मान्नु पर्यो नि। मसँग कसैले राजीनामा मागेको पनि थिएन।”

त्यसो त संविधान अनुसार मुख्यमन्त्रीको राजीनामा प्रदेश प्रमुखसमक्ष लिखित रूपमा पेश गर्नुपर्ने व्यवस्था छ। तर, प्रदेश प्रमुखको कार्यालयले अहिलेसम्म सिंहको राजीनामा पत्र प्राप्त नगरेको पुष्टि गरेको छ। प्रदेश प्रमुख कार्यालयका सचिव शत्रुधन यादवले “राजीनामा आएको छैन” भन्ने जानकारी दिएका छन्।

जेन–जी आन्दोलन उत्कर्षमा पुगेको बेला जनमत पार्टीका अध्यक्ष डा. सिके राउतले सिंहलाई राजीनामा दिन निर्देशन दिएका थिए। त्यसकै केही समयपछि सिंहले राजीनामाको घोषणा गरेका थिए। तर अन्तरिम सरकार गठन भएपछि देश सामान्य अवस्थामा फर्किन थालेको र नयाँ समीकरण बनेको सन्दर्भमा उनले राजीनामा नदिने र सिस्टम चेन्जको मात्र समर्थन गर्ने बताएका छन्।

उनले भने, “सिस्टम चेन्जको म स्वागत गर्छु। तर राम हटेर श्याम आउन, श्याम हटेर भरत आउनको लागि म छैन नि!”

२५ जेठ २०८१ मा नेकपा एमालेसहित ७ दलको समर्थनमा सिंह मधेश प्रदेशको मुख्यमन्त्री बनेका थिए। पछिल्लो केन्द्रको राजनीतिक परिवर्तनसँगै माओवादी केन्द्रलगायतका दल सरकारबाट बाहिरिएपछि सिंहको सरकार संकटमा परेको थियो। यद्यपि नेपाली कांग्रेसले भने उनलाई समर्थन गर्दै सरकारमा सहभागी भएको थियो।

यो पनि पढ्नुहोस :-

जेन-जी आन्दोलनले चर्किरहेको बेला मधेसका मुख्यमन्त्री सिंहले दिए राजीनामा

मुख्यमन्त्री सतिश कुमार सिंहलाई राजीनामा दिन डा। सीके राउतको निर्देशन


सम्बन्धित समाचार
भर्खरै