Logo

३१ भदौ,वीरगञ्ज । सशस्त्र प्रहरी बलले पर्सा जिल्लाका विभिन्न स्थानहरूबाट भन्सार छली गरेर ल्याइएको अवैध सामान बरामद गरेको छ। बरामद सामानको मूल्य झण्डै चार लाख रुपैयाँ बराबर रहेको सशस्त्र प्रहरीले जनाएको छ।

भदौ ३१ गते बिहान ११ः०० बजेतिर पर्सा जिल्लाको पकाहामैनापुर गाउँपालिका–५ लक्ष्मीपुरस्थित सीमा क्षेत्रमा खटिएको सीमा सुरक्षा गुल्म लहावरथकरीको टोलीले भारततर्फबाट टाउकोमा बोकी ल्याउँदै गरिएको रु. ५४,१५० मूल्य बराबरको कपडा नियन्त्रणमा लिएको हो। उक्त टोलीको नेतृत्व सशस्त्र प्रहरी नायब निरीक्षक अनिल कुमार ठाकुरले गरेका थिए।

त्यसैदिन बिहान ७ः५० बजेतिर वीरगञ्ज महानगरपालिका–१४ स्थित गण्डकचोकबाट खटिएको प्रसीसु गुल्मको ९ सदस्यीय टोलीले पनि ठूलो मात्रामा अवैध सामान बरामद गरेको छ। सशस्त्र प्रहरी नायब उप–निरीक्षक पुरुषोत्तम भण्डारीको नेतृत्वमा खटिएको टोलीले भारततर्फबाट भन्सार छली ल्याइएको पर्दा र ई–रिक्सा नियन्त्रणमा लिएको हो।

प्रदेश–२–०३–००१ ह ८३९ नम्बरको ई–रिक्सामा पर्दा राखी ल्याइएको थियो। बरामद पर्दाको अनुमानित मूल्य रु. ५०,४०० रहेको छ भने ई–रिक्साको मूल्य रु. ३ लाख बराबर रहेको सशस्त्र प्रहरी बलले जनाएको छ।

सामान छाडेर फरार भएका व्यक्तिहरू भने फेला नपरेको जनाइएको छ। बरामद सम्पूर्ण सामान तथा सवारीसाधन वीरगञ्ज भन्सार कार्यालयमा बुझाइएको सशस्त्र प्रहरी बलको भनाइ छ।

सशस्त्र प्रहरीले सीमावर्ती क्षेत्रमा चोरी पैठारी र भन्सार छली रोक्न निगरानी थप कडा बनाइएको समेत जानकारी दिएको छ।


सम्बन्धित समाचार