३१ भदौ,वीरगञ्ज । पर्सा जिल्लाको जगरनाथपुर गाउँपालिका–२, इनर्वा बोर्डरबाट एक महिलालाई उद्धार गरी मानवसेवा आश्रमको वीरगन्ज शाखामा भर्ना गरिएको छ। करिब ४० वर्षकी ती महिलाको मंगलबार साँझ करिब ४ बजे उद्धार गरिएको हो।
उद्धारका बेला ती महिलाले आफ्नो नाम, थर र ठेगाना प्रष्ट भन्न नसक्ने अवस्थामा थिइन्। उनलाई जगरनाथपुर गाउँपालिकाका अध्यक्ष श्रीकान्त यादवको पहलमा उद्धार गरिएको हो।
उद्धार टोलीमा मानवसेवा आश्रम वीरगन्जका संस्थापक अभियन्ता देवेश गुप्ता, सामाजिक अभियन्ता प्रकाश थारु, सशस्त्र प्रहरी कार्यालयका डीएसपी विष्णु राज उप्रेती, वडा अध्यक्ष नेपली प्रसाद कुशवाहा लगायत स्वयंसेवकहरू बिकाश माली, सरोज बि.क, र दिपेन्द्र चौधरीको सक्रिय सहभागिता थियो।
उद्धारपश्चात् महिलालाई आश्रममा लगेर सरसफाइ र नुहाइधुवाइ गरिएको छ। त्यसपछि डा. भरत गोईको निगरानीमा उनको औषधोपचार सुरु गरिएको मानवसेवा आश्रमले जनाएको छ।
मानवसेवा आश्रमले सडकमा असहाय अवस्थामा रहेका व्यक्तिहरूलाई उद्धार गरी खाना, बस्न र उपचारको व्यवस्था गर्दै आएको छ। यस उद्धारले मानवीय सेवाको उत्कृष्ट उदाहरण प्रस्तुत गरेको छ।















