३१ भदौ, काठमाडौं । नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले यस वर्षको बडादशैंको विजया दशमी (टीका) को उत्तम साइत असोज १६ गते बिहान ११:५३ बजे रहेको जनाएको छ।
समितिद्वारा मंगलबार जारी सूचनाअनुसार, विजया दशमीका दिन बिहान ९:२३ बजे देवी विसर्जनको साइत रहेको छ। टीका लगाउँदा पूर्व दिशा फर्किनुपर्ने पनि समितिले जनाएको छ।
२०७२ सालको बडादशैंको शुभारम्भ असोज ६ गते (घटस्थापना) बाट हुँदैछ। घटस्थापनाको साइत बिहान ९:१३ बजे तोकिएको छ।
त्यसपछि असोज ७ गते मंगलबार बिहान ९:५३ बजे झण्डा फेर्ने साइत रहेको छ भने असोज ११ गते शनिबार श्री पचली भैरव यात्रा सम्पन्न हुने जनाइएको छ।
असोज १३ गते सोमबार फूलपातीको दिन बिहान ७:१७ बजे श्री तुलजाभवानी यात्रा र बिहान ९:२३ बजे स्थिरासनको साइत रहेको समितिले जनाएको छ।
नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले धार्मिक तथा सांस्कृतिक विधिअनुसार शुभ साइत सार्वजनिक गर्दै आएको छ।















