११ असोज, काठमाडौं । गृह मन्त्रालयले नयाँ सरकार गठन र आमनिर्वाचनको प्रारम्भिक कार्य सुरु भइसकेकाले सभा, सम्मेलन, बैठक तथा विरोधका कार्यक्रमहरू अहिंसात्मक र शान्तिपूर्ण रूपमा सञ्चालन गर्न सबैमा अनुरोध गरेको छ।
मन्त्रालयले आज जारी विज्ञप्तिमा भनेको छ, ‘जेनजी युवाहरूको आन्दोलनपछि नेपालको राष्ट्रहित, सुशासन र भ्रष्टाचार नियन्त्रणका माग राख्दै नयाँ सरकार गठन भएको छ र निर्वाचन तयारी अघि बढेको छ। यस्तो अवस्थामा सबै कार्यक्रमले अन्य पक्षलाई असर नपर्ने र उक्साहट नहुने गरी शान्तिपूर्ण ढङ्गबाट सञ्चालन हुनुपर्छ।’
शान्ति, सुव्यवस्था र सुरक्षा कायम राख्न सबैले सहयोग गर्न गृह मन्त्रालयले आग्रह गरेको छ।














