१६ असोज,वीरगञ्ज । वीरगञ्जको दशैं मेलामा अष्टमीको राति भएको एक युवकको हत्या ‘खुनी दरिन्दे समूह’ नामक ग्याङले गरेको खुलेको छ । पर्सा प्रहरीले बिहीबार एक पत्रकार सम्मेलन गर्दै घटनाको विस्तृत विवरण सार्वजनिक गरेको हो।
गत मंगलबार राति ११ः३० बजे वीरगन्ज महानगरपालिका–१० स्थित गीतामन्दिर रोडमा दुई युवा समूहबीच भएको झडपले उग्र रूप लिएपछि २० वर्षीय शिवम कुमार साह कानु उर्फ गोल्डेनको ज्यान गएको हो। बाराको परवानीपुर गाउँपालिका–९ स्थायी घर भई हाल वीरगन्ज–१० मा बस्दै आएका मृतक गोल्डेनमाथि बाँसको भाटा र हातमुखले आक्रमण गरिएको थियो। उनलाई गम्भीर घाइते अवस्थामा नारायणी अस्पताल लगिएको भए पनि चिकित्सकहरूले अस्पताल पु¥याउनेबित्तिकै मृत घोषणा गरेका थिए।
पुरानो झगडाको रिसीवी कारण बन्यो मृत्यु
पर्साका प्रहरी उपरीक्षक (एसपी) सुदीपराज पाठकका अनुसार, उक्त हत्या योजनाबद्ध रूपमा गरिएको थियो। ‘खुनी दरिन्दे समूह’ नामबाट ह्वाट्सएपमा ग्रुप बनाएर समन्वय गरिरहेका युवाहरूले पहिलेको झगडाको रिस साँध्न गोल्डेनमाथि आक्रमण गरेका थिए। उनका अनुसार, घटनामा संलग्न युवाहरुको समूह र मृतकबीच यसअघि पनि वादविवाद र झगडा भइसकेको थियो।
“झगडाको घटनालाई योजनाबद्ध हिसाबले हत्या तर्फ मोडिएको देखिन्छ,” एसपी पाठकले बताए। “दशैं मेलाको भीडमा हमला गरी हत्या गरेर भाग्न खोजिएको थियो। तर प्रहरीको सक्रियताले आरोपितहरू धेरै दिन फरार हुन सकेनन्।”
पाँच जना पक्राउ, दुई जना भारतबाट समातिए
प्रहरीले घटनामा संलग्न मुख्य आरोपीसहित पाँच जनालाई पक्राउ गरिसकेको छ। पक्राउ पर्नेहरूमा वीरगञ्ज महानगरपालिका–२४ रामगढवाका १९ वर्षीय गौतम पटेल, २० वर्षीय सुभांकर चौरसिया, २२ वर्षीय करण प्रसाद पटेल उर्फ अमिरी पटेल, २४ वर्षीय चन्दन चौरसिया र १९ वर्षीय अमन पटवा रहेका छन्।
प्रहरीका अनुसार, तीमध्ये तीन जनालाई घटनाको राति नै वीरगन्जबाट पक्राउ गरिएको हो। बाँकी दुई जना भने घटना लगत्तै नेपालबाट भागेर भारतको बिहार राज्य अन्तर्गत पश्चिमी चम्पारण जिल्लाको बल्थर गाउँमा लुकेर बसेका थिए। ती दुई जनालाई पनि भारतीय सुरक्षाकर्मीहरूको समन्वयमा बुधबार पक्राउ गरिएको हो।
२४ घण्टामै अनुसन्धानमा सफलता
घटनाको खबर आएलगत्तै वडा प्रहरी कार्यालय विर्ताबाट प्रहरी निरीक्षक निरोज चौलागाईंको नेतृत्वमा खटिएको ३२ जनाको प्रहरी टोलीले घटनाको अनुसन्धान सुरु गरेको थियो। एसपी पाठकका अनुसार, घटनाको २४ घण्टाभित्रै मुख्य आरोपीसहित पाँच जनालाई नियन्त्रणमा लिनु प्रहरीको तर्फबाट उल्लेखनीय सफलता हो।
“अन्य संलग्न व्यक्तिहरूको पनि पहिचान भइसकेको छ,” एसपी पाठकले भने, “उनीहरूलाई पक्राउ गर्न खोजी तीव्र रूपमा अघि बढाइएको छ। घटनालाई गम्भीरतापूर्वक लिइएको छ र दोषीलाई कानूनअनुसार कारबाही गरिनेछ।”
समाजमा बढ्दो ‘ग्याङ कल्चर’ प्रति चिन्ता
उक्त घटना सँगै समाजमा युवाबीच बढ्दो ‘ग्याङ कल्चर’ र सामाजिक सञ्जालको दुरुपयोगसम्बन्धी चिन्ता पनि सतहमा आएको छ। ‘खुनी दरिन्दे समूह’ जस्ता नामबाट युवाहरूले ह्वाट्सएप लगायतका म्यासेजिङ एपहरूमा समूह बनाएर यस्तो हिंसात्मक गतिविधि सञ्चालन गर्नु समाजका लागि गम्भीर चुनौती भएको प्रहरीको भनाइ छ।
एसपी पाठकले अभिभावक, विद्यालय र समाजका सरोकारवालाहरूलाई युवाहरूको व्यवहारमा ध्यान दिनसमेत अनुरोध गरेका छन्। “युवाहरूको भावी भविष्य सुरक्षित गर्न समयमै सचेत हुन जरुरी छ,” उनले भने।
वीरगन्जको दशैं मेला रमाइलो र सांस्कृतिक उत्सवको प्रतीक हो।
तर यस वर्षको अष्टमी रातको घटना हिंसात्मक मोड लिँदै एक युवकको ज्यान जाने घटनासम्म पुग्नु समाजमा मौन रूपमा फैलिरहेको हिंसात्मक प्रवृत्तिको संकेत हो। प्रहरीले तिव्र अनुसन्धान गरी संलग्नहरूलाई पक्राउ गरे पनि घटनाको गहिरो मनोवैज्ञानिक, सामाजिक र सांस्कृतिक पाटोबारे अब गम्भीर बहस र कदम चालिनु आवश्यक देखिन्छ।















