Logo

१६ असोज, काठमाडौं । आम जनता पार्टी (आजपा) का अध्यक्ष प्रभु साहले सुशीला कार्कीको नेतृत्वमा प्रस्तावित अन्तरिम सरकारमा ‘जेनजी’ वा ‘जेनजी शहीद परिवार’को अनिवार्य सहभागिता हुनुपर्ने बताएका छन्।

रौतहटको मर्यादपुरमा बिहीबार आयोजित दशैं, दीपावली र छठ पर्वको शुभकामना कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष साहले, “जुन वर्गको आन्दोलनबाट आजको परिवर्तन सम्भव भयो, त्यसै वर्गलाई सरकारमा समेटिन नदिइनु दुःखद हो,” भन्दै अन्तरिम सरकार गठन मात्रबाट जेनजी आन्दोलनको माग सम्बोधन नहुने जिकिर गरे।

अध्यक्ष साहले अहिलेको संविधानले जेनजी आन्दोलनका माग सम्बोधन गर्न नसक्ने बताउँदै त्यसका लागि नयाँ अन्तरिम संविधानको आवश्यकता रहेको तर्क गरे।”अहिलेकै संविधानबाट जेनजी आन्दोलन सम्बोधन सम्भव छैन। यो आन्दोलनलाई टालटुल शैलीमा होइन, संस्थागत र दिगो रूपमा सम्बोधन गर्नैपर्छ। त्यसका लागि अन्तरिम संविधान अपरिहार्य छ,” उनले स्पष्ट पारे।

साहले जेनजी आन्दोलनको मागमाथि छलफल नगरी केवल अन्तरिम सरकार बनाएर जनतालाई बहकाउने काम गर्नु नहुने चेतावनीसमेत दिए। “जनता मूर्ख छैनन्, आन्दोलनको बलिदानी बिर्सनु हुँदैन,” भन्दै उनले आगामी राजनीतिक संरचनामा जेनजी समुदायको निर्णायक भूमिका सुनिश्चित गरिनुपर्ने माग दोहोर्याए।

जेनजी आन्दोलन मधेसमा उत्पीडनविरुद्ध उठेको सामाजिक–राजनीतिक आन्दोलन हो, जसमा थुप्रै युवाहरूको ज्यान गएको थियो। यो आन्दोलनलाई मुख्य रूपमा पहिचान, अधिकार, प्रतिनिधित्व र न्यायको आन्दोलनका रूपमा लिइन्छ।


सम्बन्धित समाचार