१७ असोज, काठमाडौँ । बडादशैँको विजयादशमीमा प्रारम्भ भएको टीका लगाउने धार्मिक परम्परा शुक्रबार पनि निरन्तर जारी छ। आज आश्विन शुक्ल पक्षको एकादशी भएकाले दिउँसो २ बजेर ४३ मिनेटसम्म (२१ घडी ५२ पला) एकादशी तिथि रहने नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ।
बडादशैँको अवसरमा शरद नवरात्रभर नवदुर्गा भवानीको पूजा–अर्चना गरिन्छ। विजयादशमीका दिन देवीको प्रसादका रूपमा मान्यजनको हातबाट टीका र जमरा ग्रहण गर्ने परम्परा रहिआएको छ। घरमा आशीर्वाद ग्रहण गरेपछि आफन्त, टाढा रहेका बन्धु, मावली तथा ससुरालीलगायतका घर–घरमा गई टीका लगाउने चलन रहेको छ।
धार्मिक परम्परा अनुसार यो क्रम आश्विन शुक्ल पूर्णिमासम्म रहन्छ। कोजाग्रत पूर्णिमाका दिन देवीको प्रतीकका रूपमा राखिएको जमरा विसर्जन गरेसँगै टीका लगाउने क्रम औपचारिक रूपमा समाप्त हुने परम्परा छ।
यसरी दशैँमा टीका र जमरा ग्रहण गर्ने प्रथाले नेपाली समाजमा पारिवारिक भेटघाट, आशीर्वाद र आपसी सम्बन्धलाई अझ दृढ पार्ने विश्वास गरिन्छ।















