१७ असोज,वीरगञ्ज । वीरगञ्ज महानगरपालिका वडा नम्बर १०, घडिअर्वास्थित रामजानकी मन्दिर फेरि पुजारीले कब्जामा लिने प्रयास गरेपछि स्थानीय युवाहरूले शुक्रबार बिहान त्यसको सशक्त प्रतिवाद गरेका छन्।
आफू मन्दिरको पुजारी भएको दाबी गर्ने शम्भुनाथ तिवारीले करिब ३० वर्षदेखि मन्दिरको प्रवेशद्वार थुनेर जग्गा अतिक्रमण गरी पक्की सटरहरू बनाएर भाडा असुली गर्दै आएका थिए। तर, करिब डेढ वर्षअघि २०७९ चैत २५ गते वीरगन्ज महानगरपालिकाले मेयर राजेशमान सिंहको उपस्थितिमा डोजर लगाएर ती सबै संरचनाहरू भत्काई मन्दिरलाई अतिक्रमणमुक्त बनाएर सौन्दर्यकरण गरेको थियो। त्यसयता मन्दिर सर्वसाधारणका लागि पूजापाठ र दर्शनका लागि खुल्ला थियो।
केही दिनयता पुजारी तिवारीले मन्दिर फेरि आफ्नो कब्जामा लिन चलखेल गर्न थालेको भन्दै घडिअर्वाका युवाहरू आक्रोशित बनेका छन्। घडिअर्वा स्पोट्र्स क्लबका अध्यक्ष सन्तोष कानुका अनुसार, तिवारीले मन्दिरको पर्खाल तोडेर छेउकै आफ्नो निजी घरमा छिर्नका लागि गेट बनाउने काम सुरु गरेपछि युवाहरूले मन्दिरमै भेला भएर प्रतिवाद गरेका हुन्।
प्रतिवादका क्रममा पुजारी तिवारीले मन्दिर र मन्दिर भएको जग्गा आफ्नो निजी रहेको भन्दै युवाहरूसँग विवाद गरेका थिए।
यसै विषयमा आवश्यक निर्णय गर्न घडिअर्वाका युवाहरूले शनिबार बिहान सम्पूर्ण वडाबासीको सार्वजनिक भेला बोलाएका छन्। अध्यक्ष सन्तोष कानुले वडाध्यक्ष सुशील साह कानुको ध्यानाकर्षण गराउँदै भेलाको निर्णय अनुसार नै अगाडि बढ्ने बताएका छन्। उनले टोलबासीलाई भेलामा सहभागी हुन अपिलसमेत गरेका छन्।
वडाध्यक्ष सुशील साह कानुले पुजारी तिवारीको कदमलाई ‘मनलाग्दी’ भन्दै कडा आपत्ति जनाएका छन्। रामजानकी मन्दिर सार्वजनिक स्थल भएकोले कसैले आफ्नो ‘पेवा ठान्नु’ गलत भएको उनले बताए।
वडाध्यक्ष कानुले भने, “यदि पुजारीलाई कुनै समस्या थियो भने महानगरपालिकाका मेयर वा मसंग राख्नुपथ्र्यो। तर उहाँले कसैसंगपनि सल्लाह लिनु भएन। सिधै मन्दिरको पर्खाल फोडेर घरमा छिर्ने गेट बनाउन थाल्नु भयो। यो काम गलत हो।”
उनले पनि शनिबार बस्ने वडाबासीको भेलाले गर्ने निर्णय अनुसार नै अगाडि बढ्ने स्पष्ट पारेका छन्।
स्मरण रहोस्, २०७९ चैत २४ गते उच्च अदालत अस्थायी इजलास वीरगन्जले पुजारी तिवारीको रिट खारेज गर्दै महानगरपालिकाको पक्षमा आदेश दिएको भोलिपल्टै मन्दिरको अतिक्रमण हटाइएको थियो। महानगरले अतिक्रमण हटाएपछि मन्दिरमा सौन्दर्यकरण गरी भारतबाट बहुमूल्य भगवान् राम, सीता र हनुमानको मूर्ति ल्याएर राखेको थियो।















