१८ असोज, काठमाडौं । देशभर जारी अविरल वर्षाका कारण उत्पन्न प्रतिकूल परिस्थितिलाई मध्यनजर गर्दै सरकारले आगामी आइतबार (असोज १९) र सोमबार (असोज २०) दुई दिन थप सार्वजनिक बिदा दिने निर्णय गरेको छ।
गृहमन्त्री ओमप्रकाश अर्यालले शनिबार जानकारी दिँदै अविरल वर्षाले देशका विभिन्न स्थानमा बाढी, पहिरो र सडक अवरोधजस्ता समस्या देखिएपछि जनताको सुरक्षालाई ध्यानमा राख्दै बिदा थप गर्नुपरेको बताए।
हालसम्म देशका धेरै भागहरूमा वर्षाका कारण प्रमुख तथा वैकल्पिक सडकहरू अवरुद्ध छन्। विशेष गरी काठमाडौं प्रवेश गर्ने अधिकांश मार्गहरूमा सवारीसाधन सञ्चालनमा समस्या देखिएपछि सरकारी कार्यालयहरू भोलिदेखि (आइतबार) खुल्ने योजना भए पनि सरकारलाई बिदा थप गर्ने निर्णयमा जानुपरेको हो।
गृहमन्त्री अर्यालले जनताको ज्यान र सुरक्षालाई प्राथमिकता दिँदै विपद् व्यवस्थापनमा संलग्न सबै निकायलाई उच्च सतर्कताका साथ खटिन निर्देशन दिइएको जानकारी दिए। साथै, नागरिकहरूलाई पनि आवश्यक सावधानी अपनाउन, अनावश्यक यात्रा नगर्न र सरकारी सूचनाको पालना गर्न आग्रह गरिएको छ।
सरकारी निर्णयअनुसार अब सार्वजनिक तथा सरकारी कार्यालयहरू मङ्गलबार (असोज २१) देखि नियमित रूपमा सञ्चालन हुनेछन्। बिदाका दिनहरूमा आपत्कालीन सेवा प्रवाह भने यथावत् रहनेछ।
सरकारले परिस्थितिको निरन्तर मूल्याङ्कन गर्दै आवश्यक थप निर्णयहरू लिने जनाएको छ।















