Logo

१८ असोज, काठमाडौं। गृह मन्त्रालयले निजी हेलिकप्टर सञ्चालक संघलाई तत्काल प्रयोगका लागि निजी हेलिकप्टरहरू तयारी अवस्थामा राख्न अनुरोध गर्दै पत्राचार गरेको छ।

शनिबार मन्त्रालयले वायु सेवा सञ्चालक संघलाई पत्रमार्फत जानकारी दिँदै मन्त्रालयको लिखित तथा मौखिक अनुरोधमा परिचालन गर्न सकिने गरी निजी हेलिकप्टरहरू तुरुन्त प्रयोगका लागि तयार राख्न आग्रह गरेको हो।

यो आग्रह खासगरी अहिले भइरहेका भारी तथा अति भारी वर्षाका कारण आउने सम्भावित बाढी, पहिरो र डुबानबाट प्रभावित हुने व्यक्तिहरूको खोज तथा उद्धार, राहत, स्थानान्तरण र पुनर्स्थापना कार्यमा सहयोग पुर्‍याउन गरिएको हो।

मन्त्रालयले राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण र वायु सेवा सञ्चालक संघबीच भएको सम्झौतामा आधारित भएर यो कदम चालिएको जानकारी दिएको छ। यसबाट विपद् प्रभावित क्षेत्रहरूमा छिटो छरितो उद्धार तथा राहत कार्य सञ्चालन गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ।


सम्बन्धित समाचार