१९ असोज,वीरगञ्ज । शनिबार बिहानदेखि आइतबार बिहानसम्मको २४ घण्टाको अवधिमा रौतहटको महेशपुरमा सबैभन्दा धेरै ३५८ मिलिमिटर वर्षा मापन भएको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार यस अवधिमा मधेश, कोशी र बागमती प्रदेशका विभिन्न मापन केन्द्रहरूमा अत्यधिक वर्षा भएको छ।
महेशपुर बाहेक इलामको हिमाली गाउँ केन्द्रमा ३३२.६ मिलिमिटर, कन्याम टि स्टेटमा ३१४.२ मिलिमिटर, पर्साको मुडलीमा ३२८.६ मिलिमिटर र गौरमा ३१५ मिलिमिटर वर्षा भएको छ।
विभागका अनुसार शनिबार बिहान ४:३० बजेदेखि आइतबार बिहान ४:३० बजेसम्मको वर्षा मापन गरिएको हो। असोज १९ गते बिहान ८:४५ बजेसम्म नेपालभर २९५ वर्षा मापन केन्द्र (मानव सञ्चालित ७९ र स्वचालित २१६) मा १८६ स्थानमा वर्षा रेकर्ड गरिएको थियो।
त्यसमध्ये १०५ केन्द्रमा ५० मिलिमिटरभन्दा बढी, ६८ केन्द्रमा १०० मिलिमिटरभन्दा बढी, २१ केन्द्रमा २०० मिलिमिटरभन्दा बढी र ५ केन्द्रमा ३०० मिलिमिटरभन्दा बढी वर्षा भएको बताइएको छ।
जल तथा मौसम विज्ञान विभागका अनुसार २४ घण्टामा ५० देखि १०० मिलिमिटर वर्षा ‘भारी वर्षा’, १०० देखि २०० मिलिमिटर ‘धेरै भारी वर्षा’, र २०० मिलिमिटरभन्दा बढी ‘अति भारी वर्षा’ मानिन्छ।
नदीहरूमा जलसतह घट्दै, तर सतर्कता जारी
हाल बागमती, त्रिशुली, पूर्वी राप्ती, लालबकैया, कमला लगायतका नदीहरूमा जलसतह सतर्कता तह पार गरेर घट्दो क्रममा रहेको छ। सप्तकोशी नदीले आइतबार खतरा तह पार गरेको थियो भने त्यसका सहायक नदीहरू तमोर, सुनकोशी र अरुण पनि खतरा तह पार गरे पनि हाल घट्दै छन्।
कन्काई, बुढीखोला, लोहन्द्रा, खेशलिया, विरिङजस्ता चुरे-महाभारत उद्गम नदीहरूमा पनि खतरा तह पार भएको भएपनि हाल जलस्तर घट्दो अवस्थामा रहेको विभागले जानकारी दिएको छ।
मौसम सुधारको संकेत, तर अनुगमन जारी
मनसुनको न्यून चापीय मौसम प्रणाली नेपालबाट बाहिरिएको र मनसुन कमजोर हुँदै गए पनि पूर्ण रूपमा बाहिरिएको छैन। त्यसैले बाढी र वर्षासम्बन्धी जोखिमको अनुगमन निरन्तर भइरहेको छ।
जल तथा मौसम विज्ञान विभागले बाढीको सम्भावित जोखिमका लागि सतर्क रहन र निकट भविष्यमासमेत नियमित अपडेट प्राप्त गर्न आग्रह गरेको छ।
















