Logo

२० असोज, काठमाडौं । देशभर बाढी र पहिरोले सिर्जित विषम परिस्थितिका बीच भैरहवामा अलपत्र परेका यात्रुहरूलाई काठमाडौँ ल्याउन नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) ले उद्धार उडान सञ्चालन गरेको छ। ‘न्यारो बडी ए ३२०’ विमानमार्फत १५१ यात्रुलाई भैरहवाबाट काठमाडौँ ल्याइँदैछ।

काठमाडौँबाट ८३ यात्रु लिएर गएको ‘आरए १७३१’ नम्बरको चार्टर्ड उडानले गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थलबाट यात्रुहरू लिएर फर्कन लागेको हो। नेपाल एयरलाइन्सका अनुसार यात्रु सङ्ख्यामा केही तलमाथि हुन सक्नेछ।

प्रधानमन्त्री र मुख्यसचिवको पहलमा विशेष उद्धार

प्रधानमन्त्री सुशीला कार्कीको विशेष पहल र मुख्यसचिव एकनारायण अर्यालको समन्वयमा भैरहवा आसपासमा बाढीका कारण बाटो अवरुद्ध भई अलपत्र परेका यात्रुहरूलाई उद्धार गर्न उडानको व्यवस्था गरिएको हो।

नेपाल एयरलाइन्सले सरकारले दिएको निर्देशन अनुसार उद्धार उडानमार्फत यात्रुलाई सहयोग गर्ने काम गरिरहेको जनाएको छ। उद्धार उडानमा अशक्त, ज्येष्ठ नागरिक, बिरामी तथा अत्यावश्यक यात्रुलाई विशेष प्राथमिकता दिइने पनि निगमले स्पष्ट पारेको छ।

भाडादर तथा उडान समय

उक्त उद्धार उडानमा काठमाडौँबाट भैरहवा रुटको भाडादर रू. ५,००० र भैरहवाबाट काठमाडौँका लागि रू. ७,००० तोकिएको छ।

आरए १७३२ उडानमार्फत दिउँसो २:४५ बजे काठमाडौँ फर्किने तालिका बनाइएको भए पनि मौसम र अन्य कारणले उडान केही ढिलो भएको जानकारी दिइएको छ।

यात्रु चाप उच्च, सिट सीमित

गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थलका महाप्रबन्धक प्रतापबाबु तिवारीका अनुसार भैरहवामा उल्लेख्य सङ्ख्यामा यात्रुहरू विमानको प्रतीक्षामा छन्। “विमानस्थलमा धेरै यात्रु छन्, तर विमानको सिट सीमित छ। केही एयरलाइन्सले थप उडान गरे पनि चाप धेरै भएकाले सबै यात्रुलाई समेट्न सकिएको छैन,” तिवारीले जानकारी दिए।

त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलका प्रवक्ता रिन्जी शेर्पाका अनुसार हाल मौसम अनुकूल भएकाले नियमित उडानहरू पनि सुचारु छन्।


सम्बन्धित समाचार