Logo

२० असोज,वीरगञ्ज ।  शुक्रबार रातिदेखिको अविरल वर्षापछि रौतहटको सदरमुकाम गौर दुई दिनदेखि डुबानमा परेको छ। बागमती, लालबकैया र झाझ लगायतका नदीमा आएको भीषण बाढीका कारण गौर नगर जलमग्न भएको हो।

पानीको उचित निकास नहुँदा सदरमुकाममा दुईदेखि तीन फिटसम्म पानी जमेको छ, जसले सर्वसाधारणको दैनिक आवागमनमा ठुलो अवरोध पुर्‍याएको छ।

गौरस्थित अधिकांश प्रमुख सरकारी कार्यालयहरू—जिल्ला अदालत, मालपोत कार्यालय, करदाता सेवा कार्यालय, हुलाक कार्यालय, जिल्ला प्रहरी कार्यालय, कृषि ज्ञान केन्द्र, भेटेरिनरी सेवा केन्द्र तथा नेपाल विद्युत प्राधिकरणको कार्यालयसमेत डुबानमा परेका छन्।

डुबानका कारण हिजो बिहानदेखि यी कार्यालयको कामकाज पूर्ण रूपमा ठप्प भएको छ। कार्यालयहरूमा कर्मचारी पुग्न सकिरहेका छैनन् भने सेवाग्राही पनि प्रवेश गर्न असमर्थ छन्।स्थानीय प्रशासनका अनुसार भारतले बनाएको बाँधका कारण गौर नगरको जमेको पानी दक्षिणतर्फ बग्न सकेको छैन। यसै कारण गौर दुई दिनदेखि लगातार डुबानमा परेको हो।

पानीको निकास नहुँदा डुबान अझै केही दिन रहने अनुमान गरिएको छ। यसबीचमा स्वास्थ्य जोखिम, सरसफाइ समस्या र खाद्य आपूर्तिमा समेत समस्या उत्पन्न हुने खतरा बढ्दो छ।सरकारी सेवा अवरुद्ध भएपछि सर्वसाधारण निकै मारमा परेका छन्। आवश्यक कागजात, कानुनी सेवा, कर तिर्ने, विद्युत सेवा, पशु सेवा जस्ता अत्यावश्यक सेवा लिन नपाउँदा जनजीवन थप कष्टकर बनेको छ।

स्थानीय तह र सरोकारवालासँग समन्वय गरी तत्काल राहत र उद्धारका कार्यक्रम अगाडि सार्नुपर्ने माग स्थानीयवासीले गरेका छन्।


सम्बन्धित समाचार