२१ असोज, काठमाडौं । निर्वाचन आयोगले आसन्न प्रतिनिधिसभा निर्वाचनको कार्यतालिका सार्वजनिक गरेपछि राजनीतिक दलहरूबाट आएको चर्को आलोचना लाई सम्बोधन गर्न छलफलको तयारी गरेको छ ।
दलहरूसँग संवाद नै नगरी निर्वाचन तालिका सार्वजनिक गरेको भन्दै नेकपा एमाले लगायतका दलहरूले विरोध गरेपछि आयोग छलफलमा जुटेको हो ।आयोग उच्च स्रोतका अनुसार, आयोगले यही असोज ३० गते दिउँसो साढे ११ बजे राजनीतिक दलहरूसँग परामर्श गर्ने तयारी गरेको छ।
२८ दललाई छलफलमा बोलाइने
आयोगले गत निर्वाचनमा प्रतिनिधिसभा, प्रदेशसभा र स्थानीय तहको निर्वाचनमा कम्तीमा एक सीट जितेका सबै दलहरूलाई छलफलका लागि बोलाउने तयारी गरेको छ। आयोगका अनुसार, यस्ता दलहरूको संख्या २८ रहेको छ । दलका प्रमुख तथा प्रतिनिधिलाई छलफलमा बोलाउनका लागि पत्राचार गर्ने तयारी भइरहेको आयोगले जनाएको छ । आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले जेनजीको आन्दोलनका कारण भदौ २३ गते तय भएको छलफल केही ढिला भएको बताउँदै अब जतिसक्दो चाँडो छलफल गर्न लागिएको जानकारी दिए ।
मनोनयन दर्ताको मिति सार्वजनिक गरिने
दलहरूले निर्वाचन कार्यतालिकामा मनोनयन दर्ताको मिति उल्लेख नभएकोमा पनि आयोगको आलोचना गरिरहेका छन् । प्रवक्ता भट्टराईले अहिले निर्वाचन कार्यतालिका मात्र सार्वजनिक भएको स्पष्ट पार्दै, विस्तृत निर्वाचन कार्यक्रममा मनोनयन दर्ताको समय तोकिने जानकारी दिएका छन् । आयोगले राजनीतिक दलहरूको गुनासो र मागहरूलाई यो छलफलमार्फत सम्बोधन गर्ने अपेक्षा गरिएको छ ।
















