Logo

२१ असोज, काठमाडौं । जेनजी युवा आन्दोलनका क्रममा भएका गम्भीर घटनाहरूको जाँचबुझका लागि सरकारले गठन गरेको उच्चस्तरीय न्यायिक जाँचबुझ आयोगको निष्पक्षतामाथि नेपाल बार एसोसियसनले गम्भीर प्रश्न उठाएको छ।

मंगलबार बारका महासचिव तथा वरिष्ठ अधिवक्ता केदारप्रसाद कोइरालाले विज्ञप्ति जारी गर्दै आयोगका अध्यक्ष गौरीबहादुर कार्कीको पूर्वधारणाले आयोगको निष्पक्षतामा आँच आउन सक्ने औंल्याएका छन् ।

‘सरकारले विषयवस्तुलाई हल्का रूपमा लियो’

बारले सरकारको यो कदमलाई गम्भीर घटनाको छानबिनमा केवल औपचारिकता निर्वाह गर्न खोजेको रूपमा व्याख्या गरेको छ । बारको विज्ञप्तिमा ‘आयोगका अध्यक्षको पूर्वधारणाले आयोगको निष्पक्षतामा आँच आउन नसक्ने कुराको विश्वसनीय प्रत्याभूति सार्वजनिक भएको छैन ।

यस्तो गम्भीर घटनालाई छानबिन गर्न नेपाल सरकारले औपचारिकता मात्र निर्वाह गर्न खोजी विषयवस्तुलाई हल्का रूपमा लिएको आमधारणा बनिरहेको भनिएको छ । बारको मुख्य चिन्ता आयोगको अन्तिम प्रतिवेदनमाथि छ । उनीहरूको भनाइ छ कि निष्पक्षता सुनिश्चित नभएमा आयोगको प्रतिवेदनले समेत विश्वसनीयता गुमाउनेछ, जसले घटनाको सत्यतथ्य बाहिर ल्याउन बाधा पुर्‍याउनेछ । बारको यो प्रश्नले जेनजी आन्दोलनको छानबिनलाई लिएर राजनीतिक र कानुनी वृत्तमा थप विवाद सिर्जना गर्ने देखिएको छ।

 


सम्बन्धित समाचार
भर्खरै