Logo

२४ असोज, काठमाडौं । असोज १८ र १९ गतेको अविरल वर्षापछि रोशी खोलामा आएको बाढीले तहसनहस बनाएको बीपी राजमार्गलाई आज साँझसम्ममा यातायातका लागि खुलाउने गरी मर्मत कार्य भइरहेको छ ।

बाढीले राजमार्गको १९ स्थानमा क्षति पुर्‍याएको मा १७ ठाउँमा डाइभर्सन निर्माण सम्पन्न भइसकेको छ । सडक डिभिजन भक्तपुरका प्रमुख इञ्जिनियर सुमन योगेश ले बाँकी रहेका २ स्थानमा मात्र डाइभर्सन बनाउन बाँकी रहेको जानकारी दिनुभयो ।

काभ्रे–सिन्धुली खण्डमा द्रुत गतिमा काम

बाढीले काभ्रेको दाप्चाखोलादेखि बर्खेखोलासम्म १६ स्थान र सिन्धुलीको बर्खे खोलादेखि नेपालथोकसम्म ३ स्थानमा डाइभर्सन बगाएको थियो। प्राविधिक टोलीले रातभर काम गरेर ती क्षतिपूर्ति गरिरहेको छ । सडक डिभिजन भक्तपुरका अनुसार काभ्रेतर्फ १४ स्थानमा डाइभर्सन निर्माण पूरा भएको छ। चौकीडाँडा, कटुन्जेको घुमाउने, चारसयबेसी, गिम्दीबेसी, नार्के, चिउरीबास, बोक्सीकुना, कालढुंगा, डालाबेसी र पिप्लेका चार स्थानमा सफलतापूर्वक डाइभर्सन बनिसकेका छन् । अब माम्तीका दुई स्थानमा मात्र काम बाँकी छ ।

सिन्धुलीतर्फ भने नेपालथोक र बालुवा लगायत तीन स्थानमा डाइभर्सन निर्माण सम्पन्न भएको सडक डिभिजन कार्यालय खाल्टेका सूचना अधिकारी सुदर्शन उप्रेतीले जानकारी दिनुभयो ।
डिभिजन कार्यालय भक्तपुरका प्रमुख योगेशका अनुसार, बिहीबार रातभरि पनि काम गरिएको र आज साँझसम्ममा सबै काम सकेर राजमार्गलाई सञ्चालनमा ल्याउने गरी प्रयास जारी छ।

 


सम्बन्धित समाचार