२४ असोज, काठमाडौं । नेपाल राष्ट्र बैंकले बजारमा बढेको माग सम्बोधन गर्न र वैधानिक वित्तीय कारोबारलाई सहज बनाउन सुन आयातको दैनिक कोटा बढाएको छ भने विदेशबाट नेपाल भित्र्याउने रेमिट्यान्सको सीमा पनि वृद्धि गरेको छ ।
केन्द्रीय बैंकको यो निर्णय लगत्तै अब वाणिज्य बैंकहरूले दैनिक २० किलोको सट्टा २५ किलो सुन आयात गर्न पाउनेछन् । केन्द्रीय बैंकले सुनको माग बढेकाले आयातको परिमाण बढाएको हो । सुनको मूल्यमा आएको निरन्तर वृद्धि सँगै यसलाई सुरक्षित लगानीको रूपमा लिनेहरूको संख्या बढेको छ। शुक्रबार मात्रै प्रतितोला सुनको मूल्य २ लाख ३५ हजार रुपैयाँ कायम भएको छ ।
चाडपर्व र विश्व परिवेश
दिपावली नजिकिएसँगै सुनको माग अझ बढ्ने अपेक्षा गरिएको छ । साथै, विश्व राजनीतिक परिवेश ले सुनको लागत र मूल्य दुवै निरन्तर उकालो लागिरहेको छ । नेपाल बैंकर्स संघका अनुसार, बुधबार सानिमा बैंकले ५० किलो सुन आयात गरिसकेको छ भने लक्ष्मी सनराइज बैंकले शुक्रबार सोही परिमाणमा सुन आयात गर्दैछ ।
रेमिट्यान्स सीमामा पनि वृद्धि
सुन आयातसँगै केन्द्रीय बैंकले विदेशबाट नेपाल भित्र्याउन पाउने रेमिट्यान्सको सीमा पनि बढाएको छ। फिर्ता नगर्ने गरी नेपाल आउने रेमिट्यान्सको सीमा २० लाख रुपैयाँबाट बढाएर २५ लाख रुपैयाँ पुर्याइएको छ। सम्पत्ति बिक्री, कमिसन, शुल्क, पारिश्रमिकलगायत विभिन्न प्रयोजनका लागि विप्रेषण कम्पनीहरूमार्फत दैनिक २५ लाख रुपैयाँसम्म खातामा जम्मा गर्न सकिनेछ ।
विप्रेषण कम्पनीहरूले रकम संकलन र भुक्तानी गर्दा प्रचलित व्यवस्थाबमोजिम ग्राहक पहिचानका कागजात लिनुपर्नेछ । केन्द्रीय बैंकले यसरी आएको रेमिट्यान्सको जानकारी प्रत्येक महिना समाप्त भएको सात दिनभित्र सम्बन्धित विभागहरूमा गराउनुपर्ने व्यवस्था पनि लागू गरेको छ ।















