२६,असोज काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री, भौतिक पूर्वाधार तथा यातायात, एवं सहरी विकासमन्त्री कुलमान घिसिङले आज बिहान झापाका बाढी प्रभावित क्षेत्रहरूको स्थलगत अवलोकन गर्नुभएको छ ।
इलामका बाढीपहिरो प्रभावित क्षेत्रको निरीक्षण गरी फर्कने क्रममा मन्त्री घिसिङले झापाका दुई प्रमुख नदीहरू कनकाई र विरिङले पुर्याएको क्षतिको निरीक्षण गर्नुभएको हो । मन्त्री घिसिङले विशेषगरी अर्जुनधारा नगरपालिका र झापा गाउँपालिकाका पुल तथा बस्तीहरूको अवलोकन गर्नुभयो । उहाँले अर्जुनधारा नगरपालिकाको बुट्टाबारीबाट सालबारी हुँदै चियापानीबाट कालिस्थान जोड्ने सडक र मङ्गलमडी मार्गको स्थलगत निरीक्षण गर्नुभएको छ।
हुलाकी सडकखण्डअन्तर्गतको कनकाईमाई खोलामा निर्माणाधीन पुल र वर्षाका कारण क्षति पुगेको सानोमाईको पुल तथा आसपासका क्षेत्रको पनि उहाँले अवलोकन गर्नुभयो ।
झापाका सहायक प्रमुख जिल्ला अधिकारी तेजप्रकाश प्रसाइँका अनुसार मन्त्री घिसिङले झापा गाउँपालिका–२ का बाढी प्रभावित बासिन्दासँग सङ्क्षिप्त अन्तरक्रिया समेत गर्नुभएको थियो । बाढीले क्षति पुर्याएका पूर्वाधारहरूको पुनर्निर्माण र तत्काल राहतका लागि मन्त्री घिसिङको यो भ्रमण महत्त्वपूर्ण मानिएको छ।















