Logo

६ कार्तिक, काठमाडौँ । नेपाल प्रहरीले भदौ २४ गते भएको हिंसात्मक विध्वंस र त्यसपछिका आपराधिक घटनामा संलग्न ७६ जनालाई पक्राउ गरेको छ। ‘जेन–जी आन्दोलन’पछिको अशान्त परिस्थितिमा प्रहरी हत्या, हतियार लुटपाट, तोडफोड, आगजनी र आतंक मच्चाउने गतिविधिमा संलग्नहरूलाई प्रहरीले क्रमशः पक्राउ गर्दै आएको हो।

जिल्ला प्रहरी परिसर काठमाडौंका प्रमुख एसएसपी रमेश थापाका अनुसार पक्राउ परेकामध्ये ६३ जना आगजनी, तोडफोड र आपराधिक उपद्रवमा संलग्न छन्। त्यस्तै, ज्यान मार्ने उद्योगमा संलग्न १ जना र अभद्र व्यवहारको अभियोगमा ३ जना पक्राउ परेका छन्।

भदौ २४ गतेको घटनामा तीन प्रहरीको हत्या भएको थियो। त्यसक्रममा संलग्न ९ जनामध्ये ४ जनालाई अदालतले पुर्पक्षका लागि थुनामा पठाएको एसएसपी थापाले जानकारी दिए।

“प्रहरी हत्यामा संलग्न चार जनाविरुद्ध पर्याप्त प्रमाणका आधारमा जिल्ला सरकारी वकिलको कार्यालयले मुद्दा दायर गरेको र अदालतले थुनामा पठाउने आदेश दिएको हो,” थापाले बताए।

बाँकी पाँच जनालाई हाल हिरासतमा राखी थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ।

२४ गतेकै घटनाका क्रममा विभिन्न ठाउँका कारागारबाट भागेका कैदीबन्दीमध्ये १३२ जनालाई पुनः नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार, फरारमध्ये केही अझै खोजी कार्यमा छन्।

त्यो दिनको भीडतन्त्र र लुटपाटका क्रममा हराएका हतियारमध्ये केही पुनः बरामद गरिएको प्रहरीले जनाएको छ।

“नक्कली हतियार देखाएर आतंक मच्चाउनेहरूलाई पनि नियन्त्रणमा लिइएको छ,” एसएसपी थापाले भने, “घटनाको मूल योजनाकार र सहभागीहरू पहिचान गरी कारबाही अघि बढाइरहेका छौँ।”

प्रहरीका अनुसार, भदौ २४ गतेको घटना योजनाबद्ध रूपमा उक्साइएकाले अनुसन्धान बहुआयामिक रूपमा अघि बढाइएको छ।

काठमाडौँ उपत्यकामा मात्रै सयौँ सीसीटिभी फुटेज, मोबाइल र सोसल मिडिया गतिविधिको विश्लेषण भइरहेको र बाँकी अभियुक्तहरूलाई चाँडै पक्राउ गर्ने तयारी भइरहेको प्रहरी स्रोतले जनाएको छ।

पक्राउ परेकामध्ये अधिकांशलाई जिल्ला सरकारी वकिलको कार्यालयमार्फत अदालतमा पेश गरिएको छ। अदालतले आवश्यक प्रमाणका आधारमा मुद्दा अघि बढाउने तयारी गरिरहेको छ।


सम्बन्धित समाचार