९ कार्तिक, वीरगञ्ज । लोक आस्थाको महापर्व छठको दोस्रो दिन आज देशभरका बर्तालुहरू ‘खरना’ विधिको तयारीमा व्यस्त छन्। हिजो शनिबार कात्तिक शुक्ल चौथीका दिन ‘नहाय-खाय’ विधि सम्पन्न गरेका बर्तालुहरूले आज कार्तिक शुक्ल पञ्चमीका दिन पवित्रता, श्रद्धा र निष्ठासहित खरना अनुष्ठान सम्पन्न गर्दैछन्।
आज बिहान स्नान गरी शुद्ध वेशभूषामा रहने बर्तालुहरूले दिनभर निराहार व्रत बस्नेछन्। साँझपख चन्द्र दर्शन गरेपछि माटोको नयाँ चुल्हो र माटाकै भाँडामा सक्खर, दूध र स्थानीय धानको चामल मिसाएर पकाइएको खिर कूलदेवता र छठी देवीलाई चढाउने प्रथा छ। त्यसपछि बर्तालुहरूले सो खिरलाई प्रसादस्वरूप ग्रहण गर्छन्।
यो विधिलाई ‘खरना’ भनिन्छ, जसले व्रतालुको आत्म-शुद्धि, संयम र भक्ति भावलाई अझ दृढ बनाउँछ। खिर केराको पातमा राखी चन्द्रमा देखिएपछि मात्र देवीलाई अर्पण गर्ने धार्मिक परम्परा रहिआएको छ।
छठको तेस्रो दिन अर्थात् कार्तिक शुक्ल षष्ठी तिथिमा बर्तालुले निराहार व्रत बसेर साँझपख मनोरम घाटमा पुग्नेछन्। त्यहाँ कम्मरसम्म पानीमा चोबलिएर अस्ताउँदो सूर्यलाई अघ्र्य दिने विधि गरिन्छ, जसलाई तराई-मधेशमा ‘साँझको घाट’ वा ‘सँझिया घाट’ भनिन्छ।
भोलिपल्ट सप्तमीका दिन बिहान उदाउँदो सूर्यलाई दोस्रो अघ्र्य दिइन्छ, जसलाई ‘भोरे घाट’, ‘बिहनिया घाट’ वा ‘पारन’ भनिन्छ। यसरी सूर्यदेवलाई दिइने अघ्र्यपछि छठ पर्वको विधिवत् समापन हुन्छ।
छठ पर्वमा अघ्र्यका लागि बनाइने प्रमुख प्रसाद ठकुवा, भुसुवा, र अन्य मिष्टान्न परिकार ढिकी-जाँतोमा कुटिएको, पिसिएको चामल र गहुँको पिठोबाट तयार गरिन्छ। यी परिकार घिउमा पोलिएका शुद्ध मिष्टान्न मानिन्छन्।
प्रसाद पकाउने चुल्हो नयाँ माटोको प्रयोग गरी बनाइन्छ, जसले पवित्रताको प्रतीक जनाउँछ। पर्वमा अघ्र्य दिने जलाशय र घाटहरूको सरसफाइ र सजावट पनि विशेष रूपमा गरिन्छ।
पहिले तराई-मधेशका हिन्दू समुदायमा सीमित छठ पर्व अहिले देशव्यापी साझा आस्थाको पर्वका रूपमा विकसित भएको छ। पहाड र शहरहरूमा समेत अहिले छठका घाटहरू निर्माण गरिएका छन्।
धार्मिक सहअस्तित्वको उदाहरणका रूपमा, तराई-मधेशमा इस्लाम धर्मावलम्बीहरू समेत बर्तालुलाई अघ्र्य दिने बेला सहयोग गर्ने, आफ्नो भाकल सूर्यदेवलाई देखाउने परम्परा बढ्दै गएको छ। यसले छठ पर्वलाई धर्म, संस्कृति र वर्गभन्दा माथिको एकताको पर्व बनाएको छ।
छठ केवल धार्मिक अनुष्ठान नभई सामाजिक सद्भाव, आत्म-अनुशासन र प्रकृतिप्रतिको आभार व्यक्त गर्ने पर्व हो। सूर्य उपासना र जल, माटो, अन्नजस्ता प्राकृतिक तत्वको सम्मानमार्फत यस पर्वले लोकसंस्कृतिको मौलिक स्वरूप झल्काउँछ।
यसरी, छठ पर्वले आज देशभर श्रद्धा, समर्पण र सहअस्तित्वको सन्देश फैलाउँदै लोकआस्थाको अद्भुत संगम प्रदर्शन गरेको छ।
















