Logo

१५ कार्तिक, काठमाडौँ । पार्टी एकीकरणको सम्भावना थप प्रवल बन्दै गएको सन्दर्भमा नेकपा (माओवादी केन्द्र) ले आज दिउँसो ३ बजे महाधिवेशन आयोजक समितिको सचिवालय बैठक बसाउने भएको छ। बैठक पार्टीको केन्द्रीय कार्यालय पेरिसडाँडामा हुने माओवादी केन्द्रका नेता देवेन्द्र पौडेल ले जानकारी दिए।

उनका अनुसार, बैठकमा नेकपा (एकीकृत समाजवादी), नेपाल समाजवादी पार्टी लगायतका दलसँग सम्भावित पार्टी एकता, पदीय व्यवस्थापन, मोडालिटी (संरचना र कार्यविभाजन) लगायतका विषयमा विस्तृत छलफल हुने छ।

नेता पौडेलले भने, “पार्टीबीच वैचारिक र राजनीतिक आधारमा सहमति निर्माण गर्ने प्रक्रियामा माओवादी केन्द्र अगाडि बढिरहेको छ। सचिवालय बैठकले यस सम्बन्धमा ठोस दिशा तय गर्नेछ।”

यसअघि, शुक्रबार सम्पन्न नेकपा (एकीकृत समाजवादी) को केन्द्रीय समिति बैठकले माओवादी केन्द्रसँग पार्टी एकता गर्ने निर्णय गरेको थियो। सो निर्णयसँगै बामपन्थी शक्तिहरूबीच पुनः एकीकरणको पहलले औपचारिक रुप लिन थालेको देखिन्छ।

पार्टी स्रोतका अनुसार, आजको बैठकले एकतासम्बन्धी प्रारम्भिक रूपरेखा तय गरी आगामी महाधिवेशनसम्मको कार्ययोजना बनाउने सम्भावना रहेको छ।

राजनीतिक विश्लेषकहरूका अनुसार, बाम दलबीचको एकता सफल भएमा नेपालको वामपन्थी आन्दोलन पुनः सशक्त बन्ने र वर्तमान सत्ताको समीकरणमा समेत प्रभाव पार्ने सम्भावना उच्च रहेको छ।


सम्बन्धित समाचार