Logo

१६ कार्तिक, सप्तरी । सप्तरी जिल्लाको छिन्नमस्ता गाउँपालिका–५, लोखरम मुसहरी टोलमा झाडापखालाको प्रकोप फैलिँदै जाँदा एकै परिवारका तीन जनाको मृत्यु भएको छ। मृतकमध्ये एक वर्षीय सञ्जीव सदा, चार वर्षीय रागिनी सदा र ७० वर्षीय लक्ष्मण सदा रहेका छन्।

स्थानीयका अनुसार उनीहरूको हप्तादिनको फरकमा मृत्यु भएको हो। सबैमा उच्च ज्वरो, वान्ता र लगातार झाडापखाला लाग्ने लक्षण देखिएको थियो। समयमै उपचार नपाउँदा उनीहरूको मृत्यु भएको स्थानीय शिवशंकर सदाले बताएका छन्।

त्यसै टोलमा हाल १५ जनाभन्दा बढीमा झाडापखालाको लक्षण देखिएको छ। बिरामीहरूमा बुचनकी ५ वर्षीया छोरी राधिका, शिवशंकर सदाकी १० वर्षीया छोरी करिना, कृष्णा सदाकी २५ वर्षीया पत्नी लिलमदेवी, छोरीहरू तीन वर्षीया गायत्रीकुमारी र ६ वर्षीया सुगन्धाकुमारी, ६० वर्षीय बौकु सदा लगायत छन्।

स्थानीय बासिन्दाले स्वास्थ्य निकाय र स्थानीय सरकारको ढिलासुस्तीप्रति असन्तोष जनाएका छन्। “गाउँमा झाडापखालाका बिरामीहरू बढ्दै गइरहेका छन्, तर अझै स्वास्थ्य टोली आएको छैन,” एक स्थानीयले भने।

उक्त वडाका वडाध्यक्ष जयप्रकाश ठाकुरले घटनाबारे जानकारी प्राप्त भएपछि तत्काल पहल थालिएको बताएका छन्। उनका अनुसार संक्रमित क्षेत्र पहिचान गर्न र बिरामीहरूको उपचारका लागि स्वास्थ्य टोली पठाउने तयारी भइरहेको छ।

स्वास्थ्यकर्मीहरूले सुरक्षित खानेपानी, सरसफाइ र व्यक्तिगत सावधानी अपनाउन आग्रह गरेका छन्। जिल्ला जनस्वास्थ्य कार्यालयले लोखरम टोलमा झाडापखालाको कारण पत्ता लगाउन नमुना संकलन गर्ने तयारी गरिरहेको जनाएको छ।


सम्बन्धित समाचार