Logo

१६ कात्तिक,वीरगञ्ज । वीरगञ्जलाई हरियालीयुक्त, प्रदूषणमुक्त र पर्यटनमैत्री सहरका रूपमा विकास गर्ने लक्ष्यका साथ “हरियो, स्वच्छ र आकर्षक वीरगञ्ज” अभियानको आज भव्य शुभारम्भ गरिएको छ।

उक्त अभियानको संयुक्त आयोजना वीरगञ्ज महानगरपालिका कार्यालय, सशस्त्र प्रहरी बल नेपाल नं. १३ गण हे.क्वाटर बीरगंज र ग्रिन सिटी सामुदायिक प्रहरी सेवा केन्द्र आदर्शनगरले गरेका हुन्।

आइतवार बिहान वीरगञ्ज महानगरपालिका–१६ स्थित मितेरी पुल क्षेत्रबाट सुरु गरिएको अभियानको उद्घाटन कार्यक्रममा विभिन्न निकायका प्रमुख, सुरक्षाकर्मी, स्थानीय प्रतिनिधि तथा सरोकारवालाहरूको उत्साहपूर्ण सहभागिता रहेको थियो।

कार्यक्रमको अध्यक्षता ग्रिन सिटी सामुदायिक प्रहरी सेवा केन्द्र आदर्शनगरका अध्यक्ष जय प्रकाश खेतानले गर्नुभयो। कार्यक्रममा सशस्त्र प्रहरी बल नेपाल नं. १३ गणका एसपी पुरनचन्द्र भट्ट, बीरगंज भन्सार कार्यालयका डिएसपी पुरुषोत्तम भण्डारी, नगर प्रहरी, महानगरपालिकाका पदाधिकारीहरू, सामुदायिक प्रहरीका प्रतिनिधि तथा स्थानीय विशिष्ट व्यक्तिहरू सहभागी थिए।

उक्त अवसरमा महानगरपालिकाको डोजर प्रयोग गरी मितेरी पुल आसपासको क्षेत्रमा बृहत सरसफाइ कार्य सञ्चालन गरिएको थियो। फोहोर व्यवस्थापन, सडकछेउका झाडी हटाउने तथा हरियाली विस्तारका कार्यसमेत सम्पन्न गरिएका थिए।

कार्यक्रमका अध्यक्ष जय प्रकाश खेतानले भने, “बीरगंज नेपालको प्रवेशद्वार हो। दैनिक हजारौँ भारतीय पर्यटक र व्यापारीहरू यहाँ आउँछन्। त्यसैले सहरको सौन्दर्य, सरसफाइ र हरियालीले नै बीरगंजको पहिचान झल्काउनुपर्छ।”
उनले थपे, “भन्सार क्षेत्रको सौन्दर्यकरण र व्यवस्थापन हाम्रो प्राथमिकता हो। भारतबाट आउने पाहुनालाई आकर्षित गर्न सहरलाई सुन्दर बनाउनु अत्यावश्यक छ।”

खेतानका अनुसार, ग्रिन सिटी सामुदायिक प्रहरी सेवा केन्द्रले सशस्त्र प्रहरी र स्थानीय निकायसँग सहकार्य गरी ‘हरियो बीरगंज, स्वच्छ बीरगंज’ अभियानलाई दीर्घकालीन रूपमा अघि बढाउने तयारी गरेको छ।
अभियानअन्तर्गत भन्सार क्षेत्र, आदर्शनगर, बाइपास रोड, परवानीपुरदेखि रक्सौलसम्म सडक किनारामा वृक्षारोपण, फोहोर व्यवस्थापन र सरसफाइका स्थायी उपायहरू लागू गरिनेछ।

यस अवसरमा एसपी पुरनचन्द्र भट्टले अभियानको प्रशंसा गर्दै भने, “सशस्त्र प्रहरी बल समुदायसँग सहकार्यमा वातावरण संरक्षण र सहरलाई स्वच्छ राख्न सधैं तयार छ।”

कार्यक्रमको अन्त्यमा अध्यक्ष खेतानले घोषणा गर्दै भने, “आजदेखि निरन्तर सरसफाइ कार्य सुरु भएको छ। जबसम्म बीरगंज पूर्ण रूपमा सफा र सुन्दर हुँदैन, हाम्रो अभियान रोकिँदैन।”
उनले सबै सरोकारवालाहरूलाई अभियानमा सक्रिय सहभागिता जनाउन आग्रह गर्दै जोड दिए — “सफा, हरियो र आकर्षक बीरगंज हाम्रो सबैको जिम्मेवारी हो।”


सम्बन्धित समाचार