१६ कात्र्तिक, काठमाडौं । कोशी प्रदेश सरकारले संघीय सरकारको निर्देशन विपरीत निर्णय गर्दै ३९ जना अस्थायी कर्मचारीको दरबन्दी स्वीकृत गरेको छ ।
जेनजी आन्दोलनपछि बनेको अन्तरिम सरकारले गत असोज ५ गते नै यस्तो परिपत्र जारी गरेको थियो । संघीय सरकारले सार्वजनिक सेवामा मितव्ययिता अपनाउन अनावश्यक संरचना र दरबन्दी घटाउने परिपत्र गरेको थियो । तर, आइतबार बिहान बसेको कोशी प्रदेश मन्त्रिपरिषद् बैठकले पर्यटन वन तथा वातावरण मन्त्रालय मातहतका चार कार्यालयहरूमा ३९ जना अस्थायी कर्मचारीको दरबन्दी स्वीकृत गरेको हो । आन्तरिक मामिला तथा कानुन मन्त्री रेवतीरमण भण्डारी ले मन्त्रालयको प्रस्तावमा दरबन्दी स्वीकृत गरिएको जानकारी दिए ।
दरबन्दी निरन्तरताको दाबी
प्रमुख सचिव चन्द्रकला पौडेल ले भने यो दरबन्दी नयाँ नभई अघिल्लो वर्षकै निरन्तरता भएको दाबी गरेकी छन् । उनले अति आवश्यक कार्यालय भएका कारण दरबन्दी स्वीकृत गरिएको र प्रदेशमा स्वीकृत दरबन्दीअनुसार काम गर्ने पर्याप्त जनशक्ति नभएको बताएकी छन् । पर्यटन विकास आयोजना विराटनगर, पर्यटन कार्यालय धरान र काँकडभिट्टा, तथा जलाधार व्यवस्थापन कार्यक्रम कार्यान्वयन इकाइ विराटनगरका लागि ती दरबन्दीहरू स्वीकृत भएका हुन्, जसमा कार्यालय सहयोगीदेखि ९ औं तहसम्मका कर्मचारी रहनेछन् ।
















