१७ कार्तिक, वीरगञ्ज । चालु आर्थिक वर्षको पहिलो तीन महिनामा वीरगञ्ज नाका हुँदै आठ अर्ब ७० करोड रुपैयाँ मूल्य बराबरका विभिन्न सवारीसाधन आयात भएका छन्।
वीरगञ्ज भन्सार कार्यालयका अनुसार सो अवधिमा सवारीसाधन आयातबाट सात अर्ब ७७ करोड रुपैयाँ राजस्व सङ्कलन भएको छ।
वीरगञ्ज भन्सारका प्रमुख भन्सार प्रशासक विष्णुप्रसाद ज्ञवालीका अनुसार चालु आर्थिक वर्षको पहिलो त्रैमासमा सवारीसाधनको आयात मात्रा र राजस्व दुवैमा वृद्धि भएको हो।
गत आर्थिक वर्षको सोही अवधिमा छ अर्ब १९ करोड मूल्यका सवारीसाधन आयात भएका थिए भने पाँच अर्ब ९५ करोड राजस्व संकलन भएको थियो।
चालु आवको तीन महिनामा तीन अर्ब ४१ करोड मूल्यका २४ हजार ९३९ वटा अनअसेम्बल मोटरसाइकल आयात भएका छन्। ती मोटरसाइकलबाट तीन अर्ब २८ करोड रुपैयाँ राजस्व संकलन भएको छ।
गत वर्ष सोही अवधिमा दुई अर्ब ४९ करोड मूल्यका १९ हजार ४८९ वटा अनअसेम्बल मोटरसाइकल आयात भएका थिए।
यो अवधिमा ६२ करोड २४ लाख मूल्यका ३३० जीप, कार र भ्यान भित्रिएका छन्, जसबाट एक अर्ब ७५ करोड राजस्व संकलन भएको छ। गत वर्ष सोही अवधिमा ७६ करोड ५८ लाख मूल्यका ४३२ जीप, कार र भ्यान आयात हुँदा एक अर्ब ९६ करोड राजस्व संकलन भएको थियो।
वीरगञ्ज नाका हुँदै चालु आवको तीन महिनामा मात्र ६८ करोड पाँच लाख मूल्यका २२९ वटा विद्युतीय जीप, कार र भ्यान आयात भएका छन्। ती सवारीसाधनबाट ४५ अर्ब ७२ लाख रुपैयाँ राजस्व संकलन भएको कार्यालयले जनाएको छ।
गत वर्ष सोही अवधिमा १४ करोड ४९ लाख मूल्यका ९७ वटा विद्युतीय सवारीसाधन मात्र आयात भएका थिए र ९ करोड ११ लाख राजस्व संकलन भएको थियो।
भन्सार कार्यालयका अनुसार विद्युतीय सवारीसाधनमा देखिएको यो वृद्धि नेपालमा स्वच्छ ऊर्जामुखी सवारी प्रयोगको प्रवृत्ति विस्तार हुँदै गएको संकेत हो।
















