Logo

२२ कात्र्तिक, काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले मधेस प्रदेश सरकारमा सहभागी भएकी आफ्नी एक्ली प्रदेश सांसद कञ्चन बिच्छा साहलाई स्पष्टीकरण सोधेको छ ।

पार्टीको नीति र हितविपरीत सरोजकुमार यादव नेतृत्वको विवादित सरकारमा मन्त्री बनेको आरोपमा राप्रपाको केन्द्रीय अनुशासन आयोगले मङ्गलबार बिच्छालाई २४ घण्टे स्पष्टीकरण सोधेको हो । राप्रपाका प्रवक्ता मोहन कुमार श्रेष्ठले दिएको जानकारीअनुसार अनुशासन समितिका सदस्य भक्ति प्रसाद सिटौलाको हस्ताक्षरमा पठाइएको पत्रमा पार्टी र नेतृत्वसँग कुनै छलफल वा परामर्श नगरी एमाले नेतृत्वको सरकारमा समावेश हुनु पार्टीको नीति, सिद्धान्त र हित विपरी भएको उल्लेख छ । पत्रमा ‘राप्रपाको विधान बमोजिम किन कारबाही र सजाय गर्न नपर्ने हो? नपर्ने भए प्रमाणसहित २४ घण्टाभित्र लिखित स्पष्टीकरण पेस गर्नु भनिएको छ ।

यसअघि, सोमबार राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले नै मधेस सरकारमा पार्टी सदस्यको सहभागिताप्रति गम्भीर ध्यानाकर्षण भएको बताउँदै उक्त कार्यलाई अनुशासनको गम्भीर उल्लङ्घन भएको टिप्पणी गरेका थिए । उनले बिच्छालाई तत्काल सरकारबाट फिर्ता हुन निर्देशन दिए पनि उनले हालसम्म राजीनामा दिएकी छैनन् ।

स्मरण रहोस्, मधेस प्रदेशमा नयाँ सरकार गठन प्रक्रिया विवादित बनेको थियो र सोही विवादका कारण सङ्घीय सरकारले प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीलाई पदमुक्त गरिसकेको छ । यस्तै, मुख्यमन्त्री नियुक्तिविरुद्ध सर्वोच्च अदालतमा समेत रिट दायर भइसकेको अवस्था छ।


सम्बन्धित समाचार
भर्खरै