Logo

२५ कात्र्तिक, काठमाडौं । नेपाली कांग्रेसका नेता प्रदीप पौडेलले मधेस प्रदेशका मुख्यमन्त्रीलाई बर्दिबासस्थित एक होटलमा शपथ ग्रहण गराइएको घटनालाई सङ्घीयताको मर्ममाथि नै प्रहार भएको टिप्पणी गरेका छन् ।

मङ्गलबार पार्टी कार्यालय सानेपामा पत्रकारहरूसँग कुरा गर्दै नेता पौडेलले राज्यका संरचनाहरू प्रचलित राज्यप्रणाली र यसको मर्यादा अनुसार नै सञ्चालन हुनुपर्नेमा जोड दिए । उनले तत्कालीन प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले पदीय मर्यादा र पद्धतिलाई ख्याल नगरेको आरोप लगाएका छन्। पौडेलले भने, ‘अहिले मधेस प्रदेशको हकमा समेत मर्यादा कायम नगरेको, पद्धतिअनुसार काम नगरेको देखियो। प्रदेश प्रमुखले गरेको काम पदीय मर्यादाविपरीत थियो। त्यसकारण मधेसमा पछिल्लो पटक भएको घटनाले सङ्घीयतामाथि प्रहार भएको देखियो।’

उनका अनुसार प्रदेश प्रमुखको यस्तो आचरणले सङ्घीय अभ्यासमाथि नै गम्भीर प्रश्न उठाएको छ। स्मरण रहोस्, मुख्यमन्त्रीलाई विवादित ढंगले होटलमा शपथ गराएको घटनालाई लिएर सरकारको सिफारिसमा राष्ट्रपतिले प्रदेश प्रमुख भण्डारीलाई पदमुक्त गरिसकेका छन्। नेता पौडेलको यो टिप्पणीले मधेस प्रदेशको राजनीतिक घटनाक्रमको गम्भीरतालाई उजागर गरेको छ।


सम्बन्धित समाचार
भर्खरै