४ मंसिर, काठमाडौं । बाराको सिमरामा जेनजी युवाहरूले बिहानैदेखि प्रदर्शन जारी राखेपछि जिल्ला प्रशासन कार्यालय बाराले आज पनि पुनः कर्फ्यू आदेश जारी गरेको छ ।
स्थितिलाई थप भड्किन नदिनका लागि स्थानीय प्रशासनले दिउँसो १ बजेदेखि राति ८ बजेसम्म सिमरा क्षेत्रमा कर्फ्यू लगाएको हो । जारी आदेश अनुसार, वीरगञ्ज–पथलैया सडक खण्डको पथलैया चोक दक्षिणदेखि जीतपुर लल्का पुलसम्म राजमार्गको दायाँ-बायाँ ५०० मिटरको दूरीभित्र र सिमरा विमानस्थलको वरिपरि ५०० मिटरको घेरामा कुनै पनि प्रकारका भेला, जुलुस, प्रदर्शन, सभा वा घेराउजस्ता गतिविधि गर्न पूर्ण रूपमा प्रतिबन्ध लगाइएको छ।
यो क्षेत्रमा लगातार दोस्रो दिन कर्फ्यू लगाइएको हो । यसअघि बुधबार नेकपा एमालेका कार्यकर्ता र जेनजी युवाबीच भएको झडपका कारण सिमरा बजार क्षेत्र दिनभर तनावग्रस्त बनेको थियो ।
एमाले नेता महेश बस्नेत बारा आउने विषयलाई लिएर दुई पक्षबीच विवाद उत्पन्न भएपछि स्थिति नियन्त्रण बाहिर गएको थियो । स्थिति बिग्रन नदिन स्थानीय प्रशासनले हिजो पनि सो क्षेत्रमा कर्फ्यू लगाएको थियो र आज पनि प्रदर्शन जारी रहेपछि बाध्य भएर निषेधाज्ञा जारी गर्नुपरेको हो ।















