Logo

१९ फाल्गुण, काठमाडौं । आसन्न फागुन २१ गतेका लागि तय गरिएको निर्वाचनको विरुद्धमा भ्रामक र उत्तेजित अभिव्यक्ति दिएको आरोपमा प्रहरीले एक ज्योतिषलाई नियन्त्रणमा लिएको छ ।

‘फागुन २१ मा अनिष्ट छ, चुनाव हुँदैन’ भन्दै सामाजिक सञ्जाल र सार्वजनिक माध्यममा अफबाह फैलाएको अभियोगमा ज्योतिष रुद्रनाथ अधिकारीलाई प्रहरीले चन्द्रागिरीबाट पक्राउ गरेको हो । निर्वाचनको संवेदनशीलतालाई मध्यनजर गर्दै भ्रम फैलाउनेलाई कानुनी दायरामा ल्याउने क्रममा उनलाई पक्राउ गरिएको सुरक्षा निकायले जनाएको छ ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको विशेष टोलीले सोमबार साँझ अधिकारीलाई चन्द्रागिरीबाट नियन्त्रणमा लिएर थप अनुसन्धानका लागि जिल्ला प्रहरी परिसर काठमाडौंको जिम्मा लगाएको छ । परिसरका प्रवक्ता एवं एसपी पवनकुमार भट्टराईका अनुसार, निर्वाचन जस्तो राष्ट्रिय महत्त्वको विषयमा ‘ज्योतिषीय भविष्यवाणी’ को आवरणमा सर्वसाधारणलाई त्रसित बनाउने र निर्वाचन प्रक्रियालाई नै चुनौती दिने गरी बोलेकाले उनलाई हिरासतमा राखिएको हो। अधिकारीले सार्वजनिक रूपमै २१ फागुनमा ग्रहदशाका कारण अनिष्ट हुने र चुनाव रोकिने दाबी गर्दै आएका थिए ।

अहिले उनी जिल्ला प्रहरी परिसर काठमाडौंको हिरासतमा छन् भने उनीमाथि निर्वाचन बिथोल्ने प्रयास वा सार्वजनिक शान्ति विरुद्धको कसुरमा अनुसन्धान अगाडि बढाइने सम्भावना छ । निर्वाचन आयोग र गृह मन्त्रालयले निर्वाचन विरोधी कुनै पनि खालका भ्रमपूर्ण प्रचारप्रसार नगर्न कडा निर्देशन दिएकै समयमा भएको यो पक्राउले, अफवाह फैलाउने जो(कोहीलाई पनि नछोड्ने राज्यको स्पष्ट संकेत दिएको छ ।


सम्बन्धित समाचार