९ पौष, काठमाडौँ । अमेरिकाको पेन्सिलभेनिया राज्यस्थित फिलाडेल्फियानजिकै रहेको एक नर्सिङ होममा मंगलबार दिउँसो भएको शक्तिशाली विस्फोटमा कम्तीमा दुई जनाको मृत्यु भएको छ भने पाँच जना अझै बेपत्ता रहेका छन्। विस्फोटपछि भवनको एक भाग भत्किएको छ र आगलागीसमेत भएको छ।
स्थानीय समयअनुसार दिउँसो करिब २ बजेतिर ब्रिस्टल टाउनसिपस्थित ब्रिस्टल हेल्थ एन्ड रिह्याब सेन्टर (पहिले सिल्भर लेक हेल्थकेयर सेन्टर) मा विस्फोट भएको हो। पेन्सिलभेनियाका गभर्नर जोस सापिरोले पत्रकार सम्मेलनमा आगलागी र ग्यासको तीव्र गन्धका बीच आपत्कालीन टोलीले उद्धार कार्य गर्दा दुई जनाको ज्यान गएको पुष्टि गरे।
आगो नियन्त्रणमा लिएपछि पनि उद्धार टोली “रेस्क्यु मोड” मै रहेको र खोज तथा उद्धार कार्य जारी रहेको अग्नि नियन्त्रण विभागले जनाएको छ। खोजीका क्रममा हातैले खोतल्ने काम, खोजी कुकुर तथा सोनार उपकरण प्रयोग गरिएको छ।
विस्फोट भएको समयमा नर्सिङ होममा ग्यास चुहावटको आशंकामा स्थानीय ग्यास सेवा प्रदायक कम्पनीको टोली पुगेको बताइएको छ। ग्यासको गन्ध आएको सूचनापछि आपत्कालीन टोली त्यहाँ पुग्दा विस्फोट भई आगलागी भइसकेको थियो। स्थानीय ग्यास कम्पनी पीईसीओले घटनापछि सुरक्षा सुनिश्चित गर्न ग्यास र विद्युत् सेवा बन्द गरिएको जनाएको छ।
घटनापछि नर्सिङ होमबाट उद्धार गरिएका बासिन्दा र कर्मचारीहरूलाई विभिन्न अस्पतालमा लगिएको छ। मृतक र घाइतेको विस्तृत विवरण भने सार्वजनिक गरिएको छैन। स्थानीय अग्नि प्रमुख केभिन डिपोलिटोका अनुसार पाँच जना अझै सम्पर्कविहीन छन्, तर तीमध्ये केही आफन्तसँग घटनास्थल छोडेर गएको हुन सक्ने सम्भावना पनि छ।
उद्धारका क्रममा दमकलकर्मीहरूले सिँढी र लिफ्टका सापटमा फसेका मानिसहरूलाई बाहिर निकालेका थिए। कतिपयलाई झ्याल र ढोकाबाट निकालेर बाहिर रहेका प्रहरीलाई सुम्पिएको बताइएको छ। एक प्रहरी अधिकारीले दुई जना बिरामीलाई काँधमा बोकेर सुरक्षित स्थानमा पुर्याएको दृश्य “असाधारण” रहेको अग्नि प्रमुखले बताए।
घटनास्थल नजिक बस्ने स्थानीय बासिन्दा विल्ली टाइले ठूलो आवाज सुनेर घर नै भत्कियो कि भन्ने लागेको बताए। बाहिर निस्कँदा आगो फैलिएको र मानिसहरू भागिरहेको देखेको उनको भनाइ छ।
गभर्नर सापिरोले प्रारम्भिक रूपमा ग्यास चुहावटका कारण विस्फोट भएको हुन सक्ने बताए पनि त्यसको पुष्टि अनुसन्धानपछि मात्र हुने जनाए। पेन्सिलभेनिया पब्लिक युटिलिटी कमिसनका अनुसार सुरक्षा अनुसन्धान टोली घटनास्थलतर्फ पठाइएको छ।
उक्त १७४ शय्याको नर्सिङ होमको पछिल्लो राज्य निरीक्षण गत अक्टोबरमा भएको थियो, जसमा विभिन्न सुरक्षा मापदण्ड उल्लंघन भएको उल्लेख गरिएको थियो। यद्यपि, सेप्टेम्बर २०२४ मा भएको आगो सुरक्षासम्बन्धी निरीक्षणमा कुनै औपचारिक जरिवाना लगाइएको थिएन। मेडिकेयरको मूल्यांकनमा भने उक्त नर्सिङ होमको समग्र स्तर “धेरै कमजोर” रहेको उल्लेख छ।
घटनाको विस्तृत कारण पत्ता लगाउन अनुसन्धान जारी रहेको अधिकारीहरूले बताएका छन्।















