१९ फाल्गुण, काठमाडौं । आसन्न प्रतिनिधिसभा निर्वाचनको संघारमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) लाई धनुषामा ठूलो राजनीतिक धक्का लागेको छ ।
निर्वाचन आयोगले धनुषा क्षेत्र नम्बर–१ बाट प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवारी दिएका रास्वपाका उम्मेदवार किशोरी साहको उम्मेदवारी खारेज गरिदिएको छ । निर्वाचनको अन्तिम तयारी भइरहेका बेला आयोगले गरेको यो निर्णयसँगै उक्त क्षेत्रमा रास्वपाको चुनावी प्रतिस्पर्धा प्राविधिक रूपमा समाप्त भएको छ ।
निर्वाचन आयोगका कार्यवाहक प्रमुख आयुक्त रामप्रसाद भण्डारीले सोमबार साहको उम्मेदवारी खारेज गर्ने निर्णय भएको औपचारिक पुष्टि गर्नुभएको हो । आयोगका अनुसार उम्मेदवारीका लागि तोकिएका आवश्यक कानुनी मापदण्ड वा योग्यता नपुगेका कारण उक्त निर्णय लिइएको हो । यद्यपि, खारेजीको विस्तृत प्राविधिक कारणबारे थप विवरण आउन बाँकी छ । आयोगले उम्मेदवारको योग्यता र दाबी विरोधका सम्बन्धमा परेका उजुरीहरूको सुक्ष्म अध्ययनपछि यो कदम चालेको जनाएको छ ।
मतदानको दिन नजिकिँदै गर्दा आफ्ना उम्मेदवार रेसबाट बाहिरिएपछि रास्वपाका स्थानीय नेता तथा कार्यकर्ताहरूमा अन्योल छाएको छ । मौन अवधि सुरु भइसकेको र निर्वाचनको सम्पूर्ण व्यवस्थापन अन्तिम चरणमा पुगेको अवस्थामा भएको यो बदरले धनुषा–१ को चुनावी समीकरणलाई समेत उलटपुलट पारिदिएको छ । अब उक्त क्षेत्रमा रास्वपाका समर्थकहरूले कुन बाटो रोज्नेछन् भन्ने चासोको विषय बनेको छ भने निर्वाचन आयोगले साहको नाम मतदाता नामावली वा मतपत्रको प्रक्रियाबाट हटाउन आवश्यक समन्वय गरिरहेको छ ।

















