Logo

१२ पुष, वीरगञ्ज। वीरगञ्ज महानगरपालिकामा सामुदायिक कुकुरहरूको सङ्ख्या नियन्त्रण गर्ने उद्देश्यका साथ एक विशेष बन्ध्याकरण (नसबन्दी) कार्यक्रम सम्पन्न भएको छ। सुमार्ग विन्दुआमा फाउन्डेसन (पशुपन्छी अधिकार जागरण समूह) र नेपाल भेटेनरी एसोसिएसन, मधेश प्रदेशको संयुक्त आयोजनामा उक्त कार्यक्रम आयोजना गरिएको हो।

वीरगञ्ज महानगरपालिका वडा नं. २ स्थित २ नम्बर रोडमा रहेको राधाकृष्ण मन्दिर अगाडि र त्यस वरपरका क्षेत्रलाई लक्षित गरी सञ्चालित कार्यक्रममा २० वटा सामुदायिक कुकुरहरूको सुरक्षित रूपमा बन्ध्याकरण गरिएको छ।

आयोजक संस्थाका अनुसार, बढ्दो कुकुरको सङ्ख्यालाई वैज्ञानिक तवरले नियन्त्रण गरी मानव र पशुबीचको द्वन्द्व कम गर्न तथा सहअस्तित्वलाई सुदृढ बनाउन यो अभियान सुरु गरिएको हो। कार्यक्रमकी संयोजक तथा सुमार्ग विन्दुआमा फाउन्डेसनकी अध्यक्ष प्रतिभा कोइरालाले पशुपन्छी अधिकार संरक्षणका लागि यस्ता कार्यहरू अपरिहार्य रहेको बताउनुभयो।

उहाँले भन्नुभयो, “स्थानीय सरकार, सरोकारवाला निकाय र आम नागरिकको सक्रिय सहकार्य भएमा मात्र यस्ता अभियानले सार्थकता पाउँछन्। हामी आगामी दिनमा पनि पशु कल्याणका यस्ता कार्यक्रमलाई निरन्तरता दिनेछौँ।”

कार्यक्रमलाई नेपाल भेटेनरी एसोसिएसन, मधेश प्रदेशले प्राविधिक सहयोग उपलब्ध गराएको थियो। टोलीको नेतृत्व एसोसिएसनका अध्यक्ष डा. दिनेश तिवारी, सचिव सुभाष सिंह, र सह–सचिव एवं वीरगञ्ज महानगरपालिकाका पशु सेवा शाखा प्रमुख डा. सुदिप कुमार शर्माले गर्नुभएको थियो।

कार्यक्रममा समाजसेवी तथा शिक्षक मार्तिन मोक्तान, अञ्जली श्रेष्ठ, सामुदायिक प्रहरी सेवा केन्द्र आदर्शनगरका अध्यक्ष प्रकाश खेतान, बबिता पौडेल, भुपेन्द्र पौडेल, सुनिता अग्रवाल, सुनिता बास्तोला र कपडा बैंकका अध्यक्ष लालबाबू सिंह लगायतका व्यक्तिहरूको उल्लेख्य उपस्थिति रहेको थियो।

बढ्दो सहरीकरणसँगै छाडा कुकुरहरूको व्यवस्थापन चुनौतीपूर्ण बन्दै गएको अवस्थामा यस्तो सामाजिक पहललाई स्थानीयवासीले सकारात्मक रूपमा लिएका छन्।


सम्बन्धित समाचार