१३ पुष, वीरगञ्ज । पछिल्लो केही दिनयता बढेको अत्यधिक चिसो र निरन्तरको शीतलहरका कारण वीरगञ्जको जनजीवन अत्यन्त कष्टकर बनेको छ। बिहान-साँझ बहने चिसो हावा र बाक्लो हुस्सुका कारण दैनिक मजदुरी गर्ने श्रमिक, रिक्सा चालक, सुरक्षाकर्मी तथा सर्वसाधारणको दैनिकी प्रभावित भएको छ।
यही विषम परिस्थितिलाई मध्यनजर गर्दै वीरगञ्ज महानगरपालिका वडा नम्बर १० का वडाध्यक्ष सुशील कुमार कानुले मानवीय पहल सुरु गर्नुभएको छ। वडावासीलाई चिसोबाट जोगाउन वडाध्यक्ष कानुको नेतृत्वमा आइतबारदेखि वडाका दुई दर्जनभन्दा बढी मुख्य स्थानहरूमा दाउरा बालेर आगो ताप्ने व्यवस्था मिलाइएको छ।
विशेषगरी खुला आकाशमुनि बसेर काम गर्नुपर्ने मजदुर र सुरक्षाकर्मीलाई लक्षित गरी निम्न स्थानहरूमा आगो ताप्ने व्यवस्था गरिएको छ:
- ठाकुरराम क्याम्पस र सत्या हल अगाडि
- घडिअर्वा चोक, बाबा मठिया चोक र बनारसी चोक
- वर्णवाल चोक, अशोक वाटिका र रानीघाट चोक
- घडिअर्वा गाउँको इनार, प्रहरी चौकी र कुमारी माई मन्दिर क्षेत्र
- आन्तरिक राजस्व कार्यालय र होली ल्यान्ड स्कुल क्षेत्र लगायतका २ दर्जन बढी स्थान।
राहत कार्यबारे बोल्दै वडाध्यक्ष कानुले भन्नुभयो, “चिसोका कारण वडावासीहरू निकै पीडित छन्। उनीहरूको दैनिक जीवन सहज बनाउन र स्वास्थ्य सुरक्षाका लागि हामीले यो सानो प्रयास गरेका हौं। शीतलहर अन्त्य नहुन्जेल यो अभियान निरन्तर जारी रहनेछ।”
अघिल्ला वर्षहरूमा पनि चिसोको समयमा यस्तै राहतका कार्यक्रम ल्याउने गरेका कानुको यस वर्षको सक्रियतालाई पनि स्थानीयले खुलेर प्रशंसा गरेका छन्। सडकमा काम गर्ने मजदुर र रिक्सा चालकहरूले आगो ताप्न पाउँदा ठूलो राहत महसुस भएको बताएका छन्।
जनताको सुख-दुःखमा प्रत्यक्ष साथ दिने यस्ता कार्यले स्थानीय सरकारप्रतिको विश्वास मात्र बढाएको छैन, समाजमा सकारात्मक सन्देश समेत प्रवाह गरेको छ।















