Logo

१८ पौष, वीरगञ्ज । बाराको परवानीपुरमा विहीबार राति भएको सवारी दुर्घटनामा परी एक युवकको ज्यान गएको छ । वीरगञ्ज महानगरपालिका-२१ पटेलनगर निवासी सुब्बा राउत कुर्मीका २६ वर्षीय छोरा कमलेश पटेलको बसको ठक्करबाट मृत्यु भएको हो ।

प्रहरीका अनुसार गएराति ९ः३५ बजे परवानीपुरस्थित दुर्गा मन्दिर अगाडि पश्चिमपट्टीको लेनमा मधेश प्रदेश ००३ ००१ ख ७४३८ नम्बरको ट्रक रोकिराखिएको थियो । सोही ट्रकका चालक रहेका पटेल गाडीमा चढ्दै गरेको अवस्थामा वीरगञ्जबाट काठमाडौँतर्फ जाँदै गरेको ग २ ख १४५१ नम्बरको ’स्वस्तिक’ रात्रि बसले उनलाई ठक्कर दिएको थियो ।

ठक्करबाट गम्भीर घाइते भएका पटेलको उपचारका क्रममा मृत्यु भएको परिवारजन र प्रहरीले पुष्टि गरेका छन् । मृतकको शव पोस्टमार्टमका लागि वीरगञ्जस्थित नारायणी अस्पतालमा राखिएको पर्सा प्रहरीले जनाएको छ ।

घटनालगत्तै बस लिएर फरार भएका चालकलाई प्रहरीले बाराको छातापिपराबाट नियन्त्रणमा लिएको छ । परवानीपुर प्रहरी चौकीका प्रहरी वरिष्ठ नायव निरीक्षक (सई) डिक्करदेव पन्तका अनुसार ठक्कर दिने बस, त्यसका चालक र सहचालकलाई नियन्त्रणमा लिई थप अनुसन्धान अघि बढाइएको छ ।

“हामीले फरार बसलाई छातापिपरामा फेला पारेर नियन्त्रणमा लिएका छौँ। पक्राउ परेका चालक र सहचालकको पहिचान खुलाउने र कानुनी प्रक्रिया अगाडि बढाउने काम भइरहेको छ,“ सई पन्तले बताए ।

परवानीपुर क्षेत्रमा पछिल्लो समय तीव्र गतिका कारण सवारी दुर्घटनाको जोखिम बढ्दै गएको भन्दै स्थानीयले चिन्ता व्यक्त गरेका छन् ।


सम्बन्धित समाचार
भर्खरै