Logo

२१ पुस, वीरगञ्ज । जिल्ला प्रहरी कार्यालय पर्साले धनुषामा भएको मस्जिद तोडफोड घटनाको विरोधमा आइतबार पर्सामा भएको प्रदर्शनबारे केही सञ्चार माध्यममा आएका समाचारहरू अतिरञ्जित र भ्रामक रहेको स्पष्ट पारेको छ।

पर्सा प्रहरीका प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक (डिएसपी) राजु कार्कीले सोमबार जारी गरेको प्रेस विज्ञप्तिमा आइतबार वीरगञ्जमा सम्पन्न विरोध कार्यक्रम पूर्णतः शान्तिपूर्ण रहेको जनाउँदै प्रहरीले कानुनअनुसार आवश्यक सुरक्षा व्यवस्थामात्रै अपनाएको उल्लेख गरेका छन्। विज्ञप्तिमा प्रदर्शनका क्रममा कुनै पनि सार्वजनिक वा निजी सम्पत्तिमा क्षति नभएको स्पष्ट गरिएको छ।

धनुषाको कमला नगरपालिकास्थित एक मस्जिदमा भएको तोडफोड तथा धार्मिक कागजात जलाइएको घटनाको विरोधमा वीरगञ्जमा मुस्लिम समुदायले टायर बालेर प्रदर्शन गरेका थिए। सो क्रममा छपकैयास्थित श्रीराम हल अगाडि रहेको प्रहरी बिटमा सामान्य तोडफोड भएपछि स्थिति नियन्त्रणमा लिन प्रहरीले पाँच राउन्ड अश्रुग्याँस प्रयोग गरेको भए पनि कुनै गम्भीर क्षति वा अप्रिय घटना नभएको प्रहरीले जनाएको छ।

प्रहरीले घटनासम्बन्धी भ्रामक समाचारहरू आफ्नो आधिकारिक धारणा नभएको स्पष्ट गर्दै सर्वसाधारणलाई शान्ति, संयमता र सामाजिक सद्भाव कायम राख्न आग्रह गरेको छ। यस घटनापछि मधेसका विभिन्न जिल्लामा पनि प्रशासनले धार्मिक तथा सामाजिक सद्भाव कायम राख्न अपिल जारी गरेको छ।


सम्बन्धित समाचार