Logo

२१ पुस, वीरगञ्ज । पछिल्लो समय वीरगञ्जसहित विभिन्न स्थानमा भएका धार्मिक प्रदर्शनका क्रममा समाचार संकलनमा खटिएका सञ्चारकर्मीमाथि आक्रमण तथा दुर्व्यवहारका घटनाप्रति नेपाल पत्रकार महासंघ, पर्सा शाखाले गम्भीर ध्यानाकर्षण जनाएको छ।

महासंघले जारी गरेको प्रेस विज्ञप्तिमा भोजपुरी टाइम्स दैनिकका कार्यकारी सम्पादक श्रवण साहमाथि भएको आक्रमणप्रति कडा निन्दा गरिएको छ। प्रदर्शनको दृश्य खिचिरहेका बेला प्रदर्शनकारीहरूले साहको मोबाइल खोसी उनीमाथि आक्रमण गरेको घटनालाई प्रेस स्वतन्त्रतामाथिको ठाडो हस्तक्षेप र निन्दनीय कार्य भएको महासंघले उल्लेख गरेको छ।

विज्ञप्तिमा समाचार संकलनमा खटिएका पत्रकारमाथि गरिने आक्रमण, अवरोध र दुर्व्यवहार प्रेस स्वतन्त्रता तथा नागरिकको सुसूचित हुने अधिकारको गम्भीर हनन भएको जनाइएको छ। महासंघले यस्ता स्वतन्त्र प्रेसविरोधी गतिविधि नगर्न प्रदर्शनकारीहरूलाई सचेत गराउँदै घटनामा संलग्न दोषीलाई तत्काल कानुनी कारबाहीको दायरामा ल्याउन माग गरेको छ।

त्यसैगरी, धार्मिक समुदायले गरेका प्रदर्शनसम्बन्धी समाचार सामग्री प्रकाशन तथा प्रसारण गर्दा संयमता र सावधानी अपनाउन महासंघले सञ्चारकर्मीहरूलाई आग्रह गरेको छ। पत्रकार आचारसंहिता २०७३ (पहिलो संशोधन २०७६) अनुसार जात, धर्म, सम्प्रदाय, भाषा र संस्कृतिबीचको सद्भावमा खलल पार्ने सामग्री उत्पादन, प्रकाशन र प्रसारण गर्न नहुने व्यवस्था रहेको स्मरण गराइएको छ।

महासंघले केही सञ्चारकर्मीबाट आचारसंहिताविपरीत सामग्री प्रकाशन तथा प्रसारण भएको पाइएको उल्लेख गर्दै विशेषगरी लाइभ प्रसारणका क्रममा सम्प्रदायबीचको सद्भावमा नकारात्मक असर पार्ने अभिव्यक्ति देखिएको विषयलाई सूक्ष्म रूपमा नियालिरहेको जनाएको छ।

नेपाल पत्रकार महासंघ, पर्सा शाखाले पत्रकार आचारसंहिताको पालना गर्दै व्यावसायिक धर्म र जिम्मेवारीका साथ पत्रकारिता गर्न सबै सञ्चारकर्मीलाई आग्रह गरेको छ। साथै, संवैधानिक अधिकार प्रयोग गर्दा धार्मिक तथा साम्प्रदायिक सद्भावमा असर नपुग्ने गरी अभिव्यक्ति दिन, प्रेस स्वतन्त्रताको सम्मान गर्न र पत्रकारहरूले असुरक्षा तथा भयमुक्त वातावरणमा काम गर्न पाउने अवस्था सुनिश्चित गर्न सरोकारवाला सबै पक्षलाई अपिल गरेको छ।

प्रेस विज्ञप्तिमा महासंघ पर्सा शाखाका सचिव विजयकुमार महतोको हस्ताक्षर रहेको छ।


सम्बन्धित समाचार
भर्खरै