२२ पुष, वीरगञ्ज। वीरगञ्जमा हाल देखिएको साम्प्रदायिक तनाव समाधानका लागि जिल्ला प्रशासन कार्यालय पर्साको पहलमा सर्वपक्षीय बैठक सम्पन्न भएको छ। बैठकपछि हिन्दू तथा मुस्लिम समुदायका अगुवाहरूसँग शान्ति र सद्भाव कायम गर्न सार्थक संवाद सुरु गरिएको छ।
जनमत पार्टीका पर्सा जिल्ला अध्यक्ष तथा केन्द्रीय सदस्य ओमप्रकाश सर्राफले वीरगञ्ज सधैँदेखि बहुसंस्कृति, बहुधर्म र आपसी सम्मानको प्रतीक शहर रहेको बताउनुभयो। उहाँले हिन्दू समुदायको आस्था, संस्कार र परम्पराप्रति जति सम्मान आवश्यक छ, त्यत्तिकै सम्मान मुस्लिम समुदायको धार्मिक पहिचान, भावना र अधिकारप्रति पनि अपरिहार्य रहेको उल्लेख गर्नुभयो।
उहाँले जनमत पार्टी सधैँ भाइचारा, अमन–चैन र शान्तिको पक्षमा दृढताका साथ उभिँदै आएको स्पष्ट पार्नुभयो। कुनै पनि प्रकारको घृणा, उत्तेजना वा विभाजनको राजनीतिलाई पार्टीले अस्वीकार गर्दै संवाद, सहिष्णुता र आपसी समझदारीमार्फत समस्या समाधान गर्न विश्वास गर्ने उहाँको भनाइ थियो।
“शान्ति बिना विकास सम्भव छैन, आपसी सम्मान बिना सहअस्तित्व सम्भव छैन र एकता बिना समृद्ध नेपाल सम्भव छैन,” सर्राफले भन्नुभयो।
हिन्दू र मुस्लिम समुदायबीचको ऐतिहासिक सद्भाव, भाइचारा र सहकार्यलाई अझ बलियो बनाउँदै वीरगञ्जलाई पुनः शान्ति र विश्वासको मार्गमा अगाडि बढाउनु आजको आवश्यकता भएको उहाँले बताउनुभयो।
जनमत पार्टी सबै समुदायसँग हातेमालो गर्दै सामाजिक सद्भाव, अमन–चैन र शान्ति सुनिश्चित गर्न सदैव प्रतिबद्ध रहने सर्राफले स्पष्ट पार्नुभयो। साथै, वीरगञ्जलाई शान्ति र सद्भावको सहरका रूपमा स्थापित गर्दै गौरव र समृद्धिको सहरको रूपमा विकास गर्न आफू प्रतिबद्ध रहेको उहाँको भनाइ छ।















