प्रतिनिधि सभा निर्वाचन २०८२
दिन बाँकी
Radio
Logo

२२ पुष, वीरगञ्ज। वीरगञ्जमा हाल देखिएको साम्प्रदायिक तनाव समाधानका लागि जिल्ला प्रशासन कार्यालय पर्साको पहलमा सर्वपक्षीय बैठक सम्पन्न भएको छ। बैठकपछि हिन्दू तथा मुस्लिम समुदायका अगुवाहरूसँग शान्ति र सद्भाव कायम गर्न सार्थक संवाद सुरु गरिएको छ।

जनमत पार्टीका पर्सा जिल्ला अध्यक्ष तथा केन्द्रीय सदस्य ओमप्रकाश सर्राफले वीरगञ्ज सधैँदेखि बहुसंस्कृति, बहुधर्म र आपसी सम्मानको प्रतीक शहर रहेको बताउनुभयो। उहाँले हिन्दू समुदायको आस्था, संस्कार र परम्पराप्रति जति सम्मान आवश्यक छ, त्यत्तिकै सम्मान मुस्लिम समुदायको धार्मिक पहिचान, भावना र अधिकारप्रति पनि अपरिहार्य रहेको उल्लेख गर्नुभयो।

उहाँले जनमत पार्टी सधैँ भाइचारा, अमन–चैन र शान्तिको पक्षमा दृढताका साथ उभिँदै आएको स्पष्ट पार्नुभयो। कुनै पनि प्रकारको घृणा, उत्तेजना वा विभाजनको राजनीतिलाई पार्टीले अस्वीकार गर्दै संवाद, सहिष्णुता र आपसी समझदारीमार्फत समस्या समाधान गर्न विश्वास गर्ने उहाँको भनाइ थियो।

“शान्ति बिना विकास सम्भव छैन, आपसी सम्मान बिना सहअस्तित्व सम्भव छैन र एकता बिना समृद्ध नेपाल सम्भव छैन,” सर्राफले भन्नुभयो।
हिन्दू र मुस्लिम समुदायबीचको ऐतिहासिक सद्भाव, भाइचारा र सहकार्यलाई अझ बलियो बनाउँदै वीरगञ्जलाई पुनः शान्ति र विश्वासको मार्गमा अगाडि बढाउनु आजको आवश्यकता भएको उहाँले बताउनुभयो।

जनमत पार्टी सबै समुदायसँग हातेमालो गर्दै सामाजिक सद्भाव, अमन–चैन र शान्ति सुनिश्चित गर्न सदैव प्रतिबद्ध रहने सर्राफले स्पष्ट पार्नुभयो। साथै, वीरगञ्जलाई शान्ति र सद्भावको सहरका रूपमा स्थापित गर्दै गौरव र समृद्धिको सहरको रूपमा विकास गर्न आफू प्रतिबद्ध रहेको उहाँको भनाइ छ।


सम्बन्धित समाचार