प्रतिनिधि सभा निर्वाचन २०८२
दिन बाँकी
Radio
Logo

१९ फागुन,काठमाडौं । नयाँबानेश्वरमा ट्रिपरको ठक्करबाट एक स्कुटर चालकको मृत्यु भएको छ। मृत्यु हुनेमा सुनसरी इनर्वा–५ स्थायी घर भई भक्तपुर लोकन्थली बस्दै आएका ४८ वर्षीय बद्री कोइराला रहेका छन्।

प्रहरीका अनुसार आज बिहान करिब ८ः४५ बजे मिनभवनस्थित सिभिल अस्पताल अगाडि बा२क ३२२९ नम्बरको फोहर बोक्ने ट्रिपरले प्र३–००१ब ९४५ नम्बरको स्कुटरलाई ठक्कर दिएको थियो। दुर्घटनामा गम्भीर घाइते भएका कोइरालालाई तत्काल उपचारका लागि सिभिल अस्पताल लगिएको थियो।

अस्पताल पुर्‍याइएलगत्तै बिहान ८ः५५ बजे चिकित्सकले उनलाई मृत घोषणा गरेको प्रहरीले जनाएको छ। मृतक कोइराला भक्तपुरस्थित क्षयरोग केन्द्रमा नायब सुब्बा (नासु) पदमा कार्यरत थिए।

ट्रिपर चालक गोर्खा भूमिचोक स्थायी घर भई काठमाडौं पेप्सीकोला बस्ने २६ वर्षीय विकास थापा मगर रहेको प्रहरीले जनाएको छ। उनलाई प्रहरीले नियन्त्रणमा लिई घटनाबारे थप अनुसन्धान गरिरहेको छ।


सम्बन्धित समाचार