१९ फाल्गुण, काठमाडौं । आगामी बिहीबार हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको संघारमा निर्वाचन आयोगले मतदाताको संवैधानिक अधिकार प्रयोगमा बाधा पुर्याउने जो–कोहीलाई कडा कानुनी कारबाहीको चेतावनी दिएको छ ।
निर्वाचन आचारसंहितालाई ढाल बनाउँदै आयोगले स्पष्ट पारेको छ कि मतदान स्थलमा जान खोज्ने मतदातालाई कुनै पनि बहानामा बाटो छेक्ने, गौंडा थुन्ने वा मतदान केन्द्रमा प्रवेश गर्न अवरोध सिर्जना गर्ने कार्य क्षम्य हुने छैन । यस्तो लोकतन्त्र विरोधी हर्कतमा संलग्न हुने व्यक्ति वा समूहलाई तत्काल २५ हजार रुपैयाँसम्म जरिवाना गरिने कानुनी व्यवस्था छ । आयोगले मतदातालाई निर्धक्क भएर आफ्नो मताधिकार प्रयोग गर्न आह्वान गर्दै सुरक्षा निकाय र अनुगमन अधिकृतहरूलाई उच्च सतर्क रहन निर्देशन समेत दिएको छ ।
जरिवानाको यो डण्डा केवल बाटो छेक्नेहरूका लागि मात्र होइन, जालसाजी गर्ने मतदाताका लागि पनि उत्तिकै कडा छ । आयोगका अनुसार ‘एक व्यक्ति, एक मत’ को सिद्धान्त विपरीत कसैले लोभ वा दबाबमा परेर एकभन्दा बढी पटक मतदान गर्ने प्रयास गरेमा उसलाई पनि २५ हजार रुपैयाँसम्म जरिवाना तिराइनेछ ।
सोमबार एक विज्ञप्ति जारी गर्दै आयोगले आचारसंहिताको अक्षरसः पालना गराउन आफ्ना संयन्त्रहरूलाई परिचालन गरिसकेको जनाएको छ। गएराति १२ बजेदेखि नै निर्वाचनको ‘मौन अवधि’ सुरु भइसकेकाले अब कुनै पनि प्रकारको प्रचारप्रसार वा प्रभाव पार्ने गतिविधि पूर्णतः निषेध गरिएको छ।
यसैबीच, निर्वाचनका लागि आवश्यक सम्पूर्ण प्राविधिक र व्यवस्थापकीय तयारी पूरा भएको निर्वाचन आयोगले घोषणा गरेको छ । कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीका अनुसार सबै मतदान केन्द्रहरूमा मतदान अधिकृत र कर्मचारीहरू आवश्यक निर्वाचन सामग्रीसहित पुगिसकेका छन् । ४ फागुनदेखि सुरु भएको चुनावी प्रचारको कोलाहल साम्य भएसँगै अब सबैको ध्यान २१ फागुनको मतदानमा केन्द्रित भएको छ ।
आयोगले यस ऐतिहासिक अवसरमा सहभागी भई आफ्नो भविष्यको फैसला गर्न आम नागरिकलाई आग्रह गर्दै स्वच्छ, निष्पक्ष र धाँधलीरहित निर्वाचनको प्रत्याभूति गराएको छ।

















