१९ फाल्गुण, काठमाडौं । मध्यपूर्वमा चर्किएको युद्धका कारण केही दिनदेखि ठप्प रहेको खाडी क्षेत्रको हवाई आवागमनमा सामान्य सुधारका संकेतहरू देखिएका छन् ।
अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार विश्वकै व्यस्तमध्येका दुई हवाई हबहरू दुबई र आबुधाबी विमानस्थल सोमबारदेखि आंशिक रूपमा सञ्चालनमा आएका छन् । बेलायती सञ्चारमाध्यम बीबीसीका अनुसार यी विमानस्थलहरूबाट लन्डन, मस्को र पेरिसजस्ता प्रमुख गन्तव्यका लागि उडानहरू सुरु भइसकेका छन् । यद्यपि, युद्धको जोखिम अझै कायमै रहेकाले पूर्ण क्षमतामा उडान हुन भने अझै केही समय लाग्ने देखिएको छ ।
खाडीको यो तनावले विश्वभरका ठूला वायुसेवा कम्पनीहरूको व्यापारमा अर्बौँको क्षति पुर्याएको छ भने लाखौँ यात्रुहरू बिचल्लीमा परेका छन् । यसको प्रत्यक्ष असर नेपालमा पनि देखिएको छ, जहाँ सोमबार मात्रै १६ वटा अन्तर्राष्ट्रिय उडान रद्द हुँदा सयौँ नेपाली श्रमिक र यात्रुहरू प्रभावित बनेका छन् । उडानहरू आंशिक रूपमा सुचारु भए पनि स्थिति अझै अनिश्चित रहेकाले दुबई विमानस्थलले विशेष ुट्राभल एडभाइजरीु जारी गर्दै सीमित संख्यामा मात्र उडान भइरहेको जानकारी दिएको छ ।
विमानस्थल कार्यालयले यात्रुहरूलाई सम्बन्धित एयरलाइन्सले उडानको समय निश्चित नगरेसम्म विमानस्थल नआउन कडा चेतावनी दिएको छ । युद्धको संवेदनशीलताका कारण उडान तालिका जुनसुकै बेला परिवर्तन वा रद्द हुन सक्ने भएकाले घरबाट निस्कनुअघि अनिवार्य रूपमा आफ्नो उडानको पछिल्लो अवस्था जाँच गर्न आग्रह गरिएको छ । खाडीको आकाश बिस्तारै खुल्न थाले पनि पूर्ण सुरक्षाको प्रत्याभूति नभएसम्म हवाई क्षेत्रको अन्योल कायमै रहने देखिएको छ ।

















